नतिजा प्रकाशनमा ढिलाइ नगर्न लोक सेवा आयोगलाई सर्वोच्चको आदेश
काठमाण्डौ । सर्वोच्च अदालतले परीक्षाका सम्पूर्ण प्रक्रिया पूरा भइसकेपछि अन्तिम नतिजा प्रकाशनमा ढिलाइ नगर्न लोक सेवा आयोगलाई आदेश दिएको छ।
न्यायाधीश सुनिलकुमार पोखरेलको बुधबारको एकल इजलासले मनबहादुर थापासहितका निवेदकले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै यस्तो अन्तरिम आदेश जारी गरेको हो।
निवेदकहरू प्रशासन सेवा, सामान्य प्रशासन समूहअन्तर्गत राजपत्राङ्कित द्वितीय श्रेणीका पाँच वटा विज्ञापन—१६६७९, १६६८०, १६६८१, १६६८२ र १६८३—मा सहभागी भएका थिए। उनीहरूले लिखित परीक्षा र अन्तर्वार्तासहित सबै प्रक्रिया पूरा भइसके पनि आयोगले अन्तिम नतिजा प्रकाशन नगरेको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए।
सर्वोच्चले परीक्षाका सबै चरण पूरा भइसकेपछि उम्मेदवारले यथाशीघ्र नतिजा पाउने वैधानिक अपेक्षा राख्नु स्वाभाविक भएको उल्लेख गरेको छ।
आदेशमा लोक सेवा आयोग ऐन, २०७९ को दफा २९(१) तथा लोक सेवा आयोग (कार्य सञ्चालन) निर्देशिका, २०७९ को दफा ६५ मा समेत सम्पूर्ण प्रक्रिया पूरा भएपछि अन्तिम नतिजा प्रकाशन गर्नुपर्ने व्यवस्था रहेको उल्लेख गरिएको छ।
सर्वोच्चले परीक्षाका सबै प्रक्रिया सम्पन्न भइसकेको अवस्थामा अन्तिम नतिजा यथाशीघ्र प्रकाशन गर्नुपर्ने देखिएको तर अहिलेसम्म नतिजा प्रकाशित भएको नदेखिएको जनाएको छ।
यस आधारमा अदालतले अन्तिम नतिजा प्रकाशन गर्ने कार्य नरोक्न अन्तरिम आदेश दिएको हो।
साथै, सर्वोच्चले विपक्षी लोक सेवा आयोगलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्नसमेत आदेश दिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।