काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका संस्थापक सेयरधनी उदयप्रसाद ओझाको नाममा रहेको संस्थापक सेयरमध्ये ४ हजार ९६ कित्ता सेयर दुई जना लगानीकर्तालाई बिक्री तथा नामसारी गर्ने प्रक्रिया स्वीकृत भएको छ।
कम्पनीले नेपाल धितोपत्र बोर्डलाई पठाएको पत्रअनुसार ओझाको नाममा कुल ५० हजार कित्ता संस्थापक सेयर रहेको थियो। उनले ती सेयर बिक्रीका लागि कम्पनीमा निवेदन दिएपछि प्रचलित व्यवस्थाअनुसार खरिद प्रक्रिया अघि बढाइएको थियो।
कम्पनीले सुरुमा विद्यमान संस्थापक सेयरधनीलाई सेयर खरिदका लागि अवसर दिएको थियो। तोकिएको अवधिमा आवेदन नपरेपछि इच्छुक कम्पनी, संस्था तथा सर्वसाधारण व्यक्तिबाट समेत आवेदन माग गरिएको थियो।
प्राप्त आवेदनका आधारमा कम्पनीको सञ्चालक समितिले प्रस्तावित खरिदकर्तालाई सेयर बिक्री तथा नामसारी गर्ने निर्णय गरेको हो। कम्पनीका अनुसार नियामक नेपाल बीमा प्राधिकरणबाट समेत आवश्यक स्वीकृति प्राप्त भएपछि नामसारी प्रक्रिया अघि बढाइएको छ।
विवरणअनुसार डेभिड ढकालले २ हजार कित्ता संस्थापक सेयर प्रतिकित्ता ४५१ रुपैयाँका दरले खरिद गर्ने भएका छन्। यस आधारमा उनले खरिद गर्ने सेयरको कुल मूल्य ९ लाख २ हजार रुपैयाँ हुन्छ।
त्यस्तै, दिपेश न्यौपानेले २ हजार ९६ कित्ता सेयर प्रतिकित्ता ४२१ रुपैयाँका दरले खरिद गर्ने भएका छन्। न्यौपानेले खरिद गर्ने सेयरको कुल मूल्य ८ लाख ८२ हजार ४१६ रुपैयाँ हुन्छ।
यसरी कुल ४ हजार ९६ कित्ता संस्थापक सेयरको कारोबार मूल्य करिब १७ लाख ८४ हजार ४१६ रुपैयाँ हुने देखिन्छ।
नेपाल लाइफले संस्थापक सेयर खरिद–बिक्री तथा नामसारीसम्बन्धी प्रचलित कानुनी व्यवस्था र नियामकीय स्वीकृतिअनुसार उक्त प्रक्रिया अघि बढाइएको जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।