काठमाण्डौ । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनअन्तर्गत प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन मौसमको अवस्था हेरेर असोज १३ गतेभित्र सम्पन्न गर्न निर्देशन दिएको छ।
केन्द्रीय निर्वाचन समितिले देशका विभिन्न क्षेत्रमा भइरहेको वर्षाका कारण अधिवेशन सञ्चालनमा कठिनाइ भएको जानकारी निर्वाचन अधिकृतहरूबाट आएपछि क्षेत्रीय अधिवेशन सम्पन्न गर्ने समय केही लम्ब्याएको हो।
आगामी केही दिन पनि वर्षा जारी रहने पूर्वानुमान तथा सम्बन्धित निकायबाट सतर्कता अपनाउन जारी गरिएका सूचनालाई ध्यानमा राख्दै स्थानीय अवस्था अनुकूल हुने गरी असोज १३ गतेभित्र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सक्न भनिएको छ।
यसअघि सार्वजनिक कार्यतालिकामा प्रदेशसभा क्षेत्रीय तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असोज १० गते गर्ने उल्लेख थियो। तर प्रतिकूल मौसमका कारण कांग्रेस निर्वाचन समितिले पालिका, प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रका अधिवेशन स्थानीय मौसमको अवस्था हेरेर अनुकूल समयमा सञ्चालन गर्न निर्देशन दिएको थियो।
कुन तहसम्म सकियो अधिवेशन ?
कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशन सम्पन्न भइसकेको छ भने गाउँपालिका तथा नगरपालिका तहका अधिवेशन जारी छन्।
कांग्रेसका अनुसार हालसम्म ६६ जिल्लाका ६३० पालिकामा अधिवेशन सम्पन्न भइसकेको छ। बाँकी पालिकामा मौसम तथा स्थानीय अवस्था अनुकूल बनाएर अधिवेशन सम्पन्न गर्ने तयारी छ।
यसअघि असोज ७ गतेसम्म ५८ जिल्लाका ५१२ पालिकामा अधिवेशन सम्पन्न भएको विवरण सार्वजनिक भएको थियो।
वडा अधिवेशनबाट वडा कार्यसमिति चयनसँगै क्षेत्रीय अधिवेशनका प्रतिनिधिसमेत चयन भएका छन्। कांग्रेसले असोज ३ र ४ गते वडा अधिवेशन गर्ने कार्यतालिका बनाएको थियो।
अब पालिका तहका बाँकी अधिवेशनसँगै प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सम्पन्न गर्दै कांग्रेस केन्द्रीय महाधिवेशनतर्फ अघि बढ्नेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।