काठमाण्डौ । नेपाली कांग्रेसको वडा अधिवेशनका क्रममा विराटनगर महानगरपालिका–६ मा दुई पक्षबीच कुटाकुट भएको छ।
शुक्रबार दिउँसो नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेको बेला विवाद बढेर हात हालाहालको अवस्था सिर्जना भएको हो।
भलबद्र सेवा समिति केसलियाको सभाहलमा मतदान भइरहेका बेला दुई पक्षबीच विवाद भएको मोरङ प्रहरीले जनाएको छ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार घटनापछि प्रहरीले मुस्लिम कोटाबाट क्षेत्रीय प्रतिनिधिका उम्मेदवार विराटनगर–६ का इरसाद अहमदलाई नियन्त्रणमा लिएको छ।
कुटाकुटपछि मतदान प्रक्रिया केही समय प्रभावित भएको थियो। स्थिति नियन्त्रणमा आएपछि मतदान पुनः सुरु गरिएको प्रहरीले जनाएको छ।
वडा नेतृत्वमा सहमति जुट्न नसकेपछि निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गर्न मतदान भइरहेको हो। वडाको नेतृत्वका लागि राम ढकाल र प्रकाश मण्डल ‘भोला’ छुट्टाछुट्टै प्यानल बनाएर प्रतिस्पर्धामा छन्।
यसैबीच, नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ का कार्यवाहक सभापति चुमनारायण तवदारले अधिवेशन शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको दाबी गरेका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।