काठमाण्डौ । इरानसमर्थित लडाकु समूहसँगको द्वन्द्व चर्किए पनि साउदी अरबले कच्चा तेलको निर्यात उल्लेख्य रूपमा बढाएको छ। व्यापारसम्बन्धी तथ्यांक उपलब्ध गराउने कम्पनी केप्लरका अनुसार सेप्टेम्बरमा साउदी अरबले दैनिक करिब ६० लाख ब्यारेल कच्चा तेल निर्यात गरिरहेको छ, जुन करिब सात महिनाअघि सुरु भएको इरान युद्धपछि सबैभन्दा उच्च स्तर हो।
सेप्टेम्बरमा साउदीको कच्चा तेल निर्यात सन् २०२५ को मासिक औसतकै आसपास पुगेको छ। अगस्टमा दैनिक ३४ लाख ब्यारेल रहेको निर्यात सेप्टेम्बरमा झन्डै ८० प्रतिशतले बढेको केप्लरको तथ्यांकले देखाएको छ।
इराकबाट प्रक्षेपण गरिएको ड्रोन आक्रमणबाट महत्वपूर्ण ईस्ट–वेस्ट तेल पाइपलाइनमा क्षति पुगेपछि साउदी अरबले यो महिना उक्त पाइपलाइन बन्द गरेको थियो। उक्त पाइपलाइनले साउदीको पूर्वी क्षेत्रमा उत्पादित तेललाई लाल सागरस्थित यान्बु टर्मिनलसम्म पुर्याउँदै हर्मुज जलमार्ग छल्ने वैकल्पिक मार्ग उपलब्ध गराउँदै आएको थियो।
इरान युद्धका क्रममा इरानले हर्मुज जलमार्ग हुँदै आवतजावत गर्ने तेल ट्यांकरलाई लक्षित गरेपछि ईस्ट–वेस्ट पाइपलाइनले विश्व तेल बजारका लागि महत्वपूर्ण वैकल्पिक मार्गको काम गरेको थियो।
पाइपलाइन बन्द भएपछि अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य करिब ११० डलर प्रतिब्यारेलसम्म पुगेको थियो। तर पाइपलाइन अवरोधले अपेक्षा गरिएभन्दा कम असर पारेको देखिएपछि लगानीकर्ताको विश्वास बढेसँगै तेलको मूल्य केही घटेको छ।
अमेरिकी सेनाले ओमानको तट हुँदै सुरक्षित समुद्री मार्ग निर्माण गरेपछि साउदी अरबले आफ्नो कच्चा तेल निर्यात पुनः हर्मुज जलमार्ग हुँदै पठाउन थालेको छ। खाडी क्षेत्रका अन्य मुलुकले पनि केही समयदेखि यही मार्ग प्रयोग गर्दै आएका छन्। यद्यपि इरानले जलडमरूमध्य हुँदै जाने ट्यांकरमाथि आक्रमण जारी राखेकाले यो मार्ग अझै जोखिमपूर्ण रहेको बताइएको छ।
केप्लरका कमोडिटी रिसर्च निर्देशक म्याट स्मिथका अनुसार पाइपलाइन अवरोधका कारण मध्यपूर्वी खाडीबाट तेल निर्यात बढेको हो। उनका अनुसार होर्मुज हुँदै बढ्दो आवागमनले उक्त मार्ग प्रयोगप्रति साउदी पक्षको विश्वाससमेत बढेको संकेत गर्न सक्छ।
केप्लरका अनुसार बुधबार हर्मुज जलमार्ग हुँदै कच्चा तेलको सातदिने औसत प्रवाह दैनिक १ करोड ३२ लाख ब्यारेल पुगेको थियो। इरान युद्धका कारण समुद्री आवागमन प्रभावित हुनुअघि यही मार्गबाट दैनिक करिब १ करोड ७० लाख ब्यारेल तेल ओसारपसार हुने गरेको थियो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।