आईतवार, आश्विन ११,२०८३ 10:51:46
Bizshala
  • आईतवार, आश्विन ११,२०८३ 10:51:46
Bizshala
Global IME Bank Limited

भारतको उत्तर प्रदेशमा ७२ घण्टे अविरल वर्षा, ५८ जनाको मृत्यु

भारतको उत्तर प्रदेशमा ७२ घण्टे अविरल वर्षा, ५८ जनाको मृत्यु
New Office

 

काठमाण्डौ । भारतको उत्तर प्रदेशमा लगातार करिब ७२ घण्टादेखि भइरहेको अविरल वर्षाले ठूलो जनधनको क्षति पुर्‍याएको छ । भारी वर्षासँगै आएको बाढी, जलभराव, घर तथा रुख ढल्ने लगायतका घटनामा शनिबार साँझसम्म कम्तीमा ५८ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

लगातारको वर्षाले प्रदेशका अधिकांश क्षेत्रको जनजीवन प्रभावित बनेको छ । सडक जलमग्न भएका छन् भने विभिन्न स्थानमा कच्ची घर भत्किएका, रुख तथा विद्युत्का पोल ढलेका र विद्युत् आपूर्ति अवरुद्ध भएका छन् । कृषि क्षेत्रमा समेत ठूलो क्षति पुगेको छ ।

शनिबार मात्रै उत्तर प्रदेशका करिब १० जिल्लामा २०० मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको छ । लखीमपुर खीरीमा एकै दिन ३४२ मिलिमिटर वर्षा भएको छ भने सीतापुरमा २७३.२, बाँदामा २४५.६ र बहराइचमा २३९ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ ।

बाँदा र हमीरपुरमा एकै दिनको वर्षाको पुरानो रेकर्ड तोडिएको छ । कानपुरमा १७५.४ मिलिमिटर वर्षा हुँदा त्यहाँ ४५ वर्षयताकै उच्च वर्षाको रेकर्ड बनेको बताइएको छ ।

अवध क्षेत्रमा सबैभन्दा बढी मानवीय क्षति

वर्षाजन्य घटनामा सबैभन्दा धेरै २६ जनाको मृत्यु अवध क्षेत्रका जिल्लामा भएको छ । सीतापुरमा ६, बहराइचमा ५, बलरामपुर र अयोध्यामा ४–४ तथा बाराबंकीमा ३ जनाको मृत्यु भएको छ ।

यस्तै, गोन्डा, अमेठी र श्रावस्तीमा पनि मानवीय क्षति भएको छ । लखीमपुर खीरीमा ६, गोरखपुरमा ५, हरदोईमा ४ र हमीरपुरमा ३ जनाको मृत्यु भएको विवरण छ । अन्य केही जिल्लामा पनि एक–दुई जनाको मृत्यु भएको जनाइएको छ ।

भारी वर्षासँगै आएको हावाहुरीका कारण विभिन्न स्थानमा रुख र विद्युत्का पोल ढलेका छन् । सडक अवरुद्ध भएका छन् भने विद्युत् प्रसारण प्रणालीमा समेत क्षति पुगेको छ ।

पछिल्लो ४८ घण्टामा अतिवृष्टि र हावाहुरीका कारण कम्तीमा ११७ घरमा क्षति पुगेको उत्तर प्रदेश सरकारले जनाएको छ । जोखिममा रहेका कच्चा घरमा बस्ने परिवारलाई आवश्यकता अनुसार सुरक्षित स्थानमा सार्न स्थानीय प्रशासनलाई निर्देशन दिइएको छ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

लखनऊमा सडकदेखि विमानस्थलसम्म प्रभावित

राजधानी लखनऊ पनि लगातारको वर्षाबाट नराम्ररी प्रभावित भएको छ । विभिन्न क्षेत्रमा घुँडासम्म पानी जमेको छ भने सडक यातायात अस्तव्यस्त बनेको छ ।

पुरनिया ओभरब्रिजमुनि पानी जम्दा अटो तथा ई–रिक्सा पल्टिएका घटना भएका छन् । निशातगन्ज क्षेत्रमा करिब १५० वर्ष पुरानो बरको रुखसमेत ढलेको छ ।

लखनऊ नगर निगमका अनुसार सहरमा मात्रै १२५ भन्दा बढी रुख ढलेका छन् । केही स्थानमा सवारीसाधनमा क्षति पुगे पनि ती घटनामा थप मानवीय क्षति नभएको जनाइएको छ ।

चारबाग रेलवे स्टेसन क्षेत्रमा पानी जम्दा रेल सेवासमेत प्रभावित भएको छ । रेलमार्गमा पानी भरिएपछि केही खण्डमा रेलको गति घटाइएको छ ।

कम भिजिबिलिटीका कारण लखनऊ विमानस्थलमा अवतरण गर्न लागेका छवटा उडान दिल्ली तथा नोएडातर्फ डाइभर्ट गरिएको थियो । मौसममा केही सुधार आएपछि ती विमान पुनः लखनऊ फर्किएका थिए ।

तापक्रममा पनि ठूलो गिरावट

भारी वर्षाका कारण उत्तर प्रदेशका विभिन्न सहरको तापक्रम अस्वाभाविक रूपमा घटेको छ । बरेलीमा अधिकतम तापक्रम २१.३ डिग्री सेल्सियसमा झरेको छ, जुन सेप्टेम्बर महिनाका लागि त्यहाँ अहिलेसम्मकै न्यूनमध्ये एक भएको बताइएको छ ।

इटावा, शाहजहाँपुर, मुरादाबाद र आग्रामा पनि सेप्टेम्बर महिनाको तुलनामा अत्यधिक चिसो मौसम अनुभव गरिएको छ ।

आज पनि भारी वर्षाको चेतावनी

भारतीय मौसम विभागले आइतबार पनि उत्तर प्रदेशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुन सक्ने चेतावनी दिएको छ ।

मुरादाबाद, रामपुर, पीलीभीत र बरेलीमा अति भारी वर्षाको सम्भावना रहेको भन्दै ‘ओरेन्ज अलर्ट’ जारी गरिएको छ । तराई क्षेत्रका थप नौ जिल्लामा ‘येलो अलर्ट’ जारी गरिएको छ ।

प्रदेशका २७ जिल्लामा मेघगर्जनसहित प्रतिघण्टा ४० देखि ६० किलोमिटर वेगमा हावाहुरी चल्न सक्ने चेतावनीसमेत दिइएको छ ।

क्षेत्रीय मौसम विज्ञान केन्द्रका वरिष्ठ वैज्ञानिक अतुल कुमार सिंहका अनुसार सोमबारदेखि उत्तर प्रदेशमा वर्षाको गतिविधि क्रमशः कमजोर हुँदै जाने सम्भावना छ ।

नेपालसँग सीमा जोडिएका क्षेत्रमा उच्च सतर्कता

नेपालमा समेत भारी वर्षा भइरहेको अवस्थामा उत्तर प्रदेशका नेपालसँग सीमा जोडिएका तथा पूर्वी जिल्लामा नदीको जलस्तर बढ्न सक्ने भन्दै उच्च सतर्कता अपनाइएको छ ।

सम्बन्धित जिल्लाका प्रशासनलाई नदीको जलस्तर निरन्तर निगरानी गर्न, सम्भावित डुबान क्षेत्र पहिचान गर्न र उद्धार टोलीलाई तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ ।

उत्तर प्रदेशका ६३ जिल्लामा सामान्यभन्दा बढी वर्षा भएको जनाइएको छ । पछिल्लो २४ घण्टामा प्रदेशभर औसतभन्दा करिब १९ गुणा बढी वर्षा भएको विवरण छ ।

फर्रुखाबादमा सामान्यभन्दा करिब २०० गुणा र कानपुर नगरमा १६० गुणा बढी वर्षा भएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

लगातारको वर्षा, बाढी र हावाहुरीले थप क्षति पुर्‍याउन सक्ने भन्दै प्रशासनले प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्य तीव्र पारेको छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.