काठमाण्डौ । निरन्तरको हावाहुरीसहितको वर्षा, बाढी र पहिरोका कारण नेपाल टेलिकमका केही स्थानका दूरसञ्चार सेवा अवरुद्ध भएका छन्।
कम्पनीका अनुसार असोज ८ गतेदेखि जारी प्रतिकूल मौसमका कारण विभिन्न स्थानमा अप्टिकल फाइबरमा क्षति पुगेको, विद्युत् आपूर्ति अवरुद्ध भएको तथा प्राविधिक टोलीको आवागमनमा समेत कठिनाइ उत्पन्न भएको छ।
भारी वर्षा, पहिरो तथा सडक अवरोधका कारण मर्मत टोली सम्बन्धित क्षेत्रमा पुग्न समस्या भइरहेको टेलिकमले जनाएको छ।
त्यस्तै, हिमपात, निरन्तर वर्षा र बाक्लो बादलका कारण सोलार ऊर्जामा निर्भर कतिपय साइटको प्रभावकारिता घट्दा पनि सेवा निरन्तरतामा असर परेको कम्पनीको भनाइ छ।
सम्भव भएका ठाउँमा मर्मत जारी
नेपाल टेलिकमले प्राविधिक रूपमा सिस्टमबाट गर्न सकिने मर्मत तथा पुनःस्थापनाका काम निरन्तर भइरहेको जनाएको छ।
त्यस्तै, पहुँच सम्भव भएका स्थानमा प्राविधिक टोली परिचालन गरी सेवा सुचारु गर्ने प्रयास भइरहेको छ।
मौसममा सुधार आउनेबित्तिकै प्रभावित कार्यस्थलमा खटिने गरी प्राविधिक टोली तयारी अवस्थामा राखिएको पनि कम्पनीले स्पष्ट पारेको छ।
कम्पनीले बाढी, पहिरो र प्रतिकूल मौसमका कारण सेवामा पुगेको अवरोधबाट ग्राहकलाई परेको असुविधाप्रति क्षमायाचना गर्दै सेवा पुनःस्थापनाका लागि निरन्तर प्रयास भइरहेको जनाएको छ।
नेपाल टेलिकमले कठिन परिस्थितिमा धैर्य राखेकोमा ग्राहकप्रति आभारसमेत व्यक्त गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।