काठमाण्डौ । लगातारको वर्षापछि बढेको देशका अधिकांश प्रमुख नदीहरूको जलसतह घटेर सामान्य अवस्थामा फर्किन थालेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार नारायणीबाहेक अन्य प्रमुख तथा सहायक नदीहरूको जलसतह सतर्कता तहभन्दा तल झरिसकेको छ ।
महाशाखाले सोमबार बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार नारायणी नदीको जलसतह भने अझै सतर्कता तहभन्दा माथि छ । यद्यपि पानीको बहाव निरन्तर घट्दो क्रममा रहेको जनाइएको छ ।
देवघाटस्थित नारायणी नदी मापन केन्द्रमा आज दिनभर पानीको बहावमा सामान्य घटबढ हुनसक्ने भएकाले सतर्कता अपनाउनुपर्ने अवस्था कायमै रहेको छ । महाशाखाले त्यहाँ पहेँलो संकेत राखेको छ । भोलिदेखि नारायणीको अवस्था पनि पूर्ण रूपमा सामान्य हुने पूर्वानुमान गरिएको छ ।
पाँच दिने बाढी पूर्वानुमानअनुसार कोशी, कर्णाली र महाकालीजस्ता ठूला नदी प्रणालीमा तत्काल बाढीको जोखिम देखिएको छैन । आगामी असोज १६ गतेसम्म यी नदीका साथै कन्काई, कमला, बागमती, पूर्वी राप्ती, तिनाउ, बाणगंगा, पश्चिम राप्ती र बबई नदीमा पानीको बहाव सामान्य घटबढ मात्र हुने अनुमान छ ।
महाशाखाले यी नदीहरूमा आगामी पाँच दिनसम्म बाढीको जोखिम न्यून रहेको जनाउँदै हरियो संकेत राखेको छ ।
देशका साना नदी तथा खोलाहरूमा पनि तत्काल बाढी वा आकस्मिक बहावको जोखिम नदेखिएको महाशाखाले जनाएको छ । आजदेखि असोज १४ गतेसम्म अधिकांश साना नदीहरूको बहाव सामान्य रहने पूर्वानुमान छ ।
यस्तै, आगामी २४ घण्टामा देशभर फ्ल्यास फ्लड अर्थात् आकस्मिक बाढीको सम्भावना न्यून रहेको जनाइएको छ । महाशाखाले देशभरका साना नदी तथा खोलामा जोखिम न्यून रहेको संकेत गर्दै अधिकांश क्षेत्रलाई हरियो श्रेणीमा राखेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।