काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा तीव्र गिरावट आएको छ। अमेरिकी बन्डको प्रतिफल बढ्नु, कच्चा तेलको मूल्य उकालो लाग्नु तथा अमेरिकी फेडरल रिजर्भले ब्याजदर थप बढाउन सक्ने अपेक्षा बलियो बनेपछि सोमबार बहुमूल्य धातु सुनको बजार दबाबमा परेको हो।
अन्तर्राष्ट्रिय बजारमा स्पट गोल्डको मूल्य ३.११ प्रतिशत अर्थात १३२ डलरले घटेर प्रतिऔंस ४ हजार १४३ डलरमा सीमित बनेको छ। अन्य बहुमूल्य धातुको मूल्यसमेत घटेको छ। चाँदी ४.९४ प्रतिशत अर्थात ३.१७ डलरले घटेर प्रतिऔंस ६२.६४ डलरमा झरेको छ ।
विश्लेषकहरूका अनुसार सुनको मूल्यमा आएको तीव्र गिरावटको प्रमुख कारण अमेरिकी ट्रेजरी बन्डको यिल्डमा भएको वृद्धि हो। बन्ड यिल्ड बढ्दा ब्याज नदिने सुनको तुलनात्मक आकर्षण घट्ने गर्छ।
अमेरिकी १० वर्षे ट्रेजरीको यिल्ड ५.१३ प्रतिशत पुगेको छ, जुन सन् २००७ यताकै उच्च हो। त्यस्तै, ३० वर्षे बन्डको यिल्ड ५.४४ प्रतिशत पुगेको छ, जुन सन् २००४ यताकै उच्च स्तर भएको उनको भनाइ छ।
यससँगै अमेरिकी डलर बलियो बन्दै जाँदा डलरमा मूल्य निर्धारण हुने सुनमाथि थप दबाब परेको विश्लेषकहरूको भनाइ छ।
अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले आगामी बैठकमा ब्याजदर बढाउन सक्ने अपेक्षा पनि बजारमा बलियो बनेको छ।
कच्चा तेलको मूल्यमा भएको वृद्धिले मुद्रास्फीतिको जोखिम पुनः बढाएको छ। त्यसले फेडलाई ब्याजदर थप कडा बनाउने दबाब बढ्न सक्ने अनुमान लगानीकर्ताले गरेका छन्। ब्याजदर बढ्ने अपेक्षाले बन्ड यिल्ड र अमेरिकी डलर दुवैलाई बलियो बनाउन सक्ने भएकाले सुनमाथि दबाब परेको हो।
अमेरिका–इरान तनाव र हर्मुज जलमार्गसँग सम्बन्धित घटनाक्रमले पनि बजारको जोखिम धारणा प्रभावित गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले हर्मुज पुनः खोल्ने र युद्ध अन्त्य गर्ने प्रस्ताव अस्वीकार गरेको बताएपछि कच्चा तेलको मूल्य पुनः बढेको छ। इरानले भने कूटनीति नै विवाद समाधानको बाटो रहेको बताएको छ।
सामान्यतया भूराजनीतिक तनाव बढ्दा सुरक्षित लगानीका रूपमा सुनको माग बढ्ने गर्छ। तर यसपटक कच्चा तेलको मूल्य वृद्धिले मुद्रास्फीतिको चिन्ता बढाएर अमेरिकी ब्याजदर थप बढ्न सक्ने अपेक्षा बलियो बनाएको छ। त्यसकारण भूराजनीतिक जोखिमबाट प्राप्त हुन सक्ने सुनको ‘सेफ हेभन’ मागलाई समेत उच्च बन्ड यिल्ड र बलियो डलरले दबाएको विश्लेषण गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।