काठमाण्डौ । नेपाली कांग्रेसको राजनीतिसँग लामो इतिहास जोडिएको कोइराला परिवारको चौथो पुस्ता पनि सक्रिय राजनीतिमा देखिन थालेको छ। कांग्रेसका संस्थापक नेता, पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाकी नातिनी रिचा कोइराला काठमाडौँ–१ बाट महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवार बनेकी छन्।
रिचा प्रजातन्त्र सेनानी क्लस्टरबाट महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा उत्रिएकी हुन्। कोइराला परिवारको राजनीतिक विरासतसँग जोडिएकी रिचाले यसपटक कांग्रेसको नीतिगत तहमा पुगेर योगदान गर्ने उद्देश्यसहित उम्मेदवारी दिएको बताएकी छन्।
कोइराला परिवारको राजनीतिक इतिहास ‘पिताजी’ कृष्णप्रसाद कोइरालाबाट सुरु भएको मानिन्छ। उनका छोरा मातृकाप्रसाद कोइराला, बीपी कोइराला र गिरिजाप्रसाद कोइराला तीनै जना नेपालका प्रधानमन्त्री बनेका थिए भने कांग्रेसको नेतृत्वसमेत सम्हालेका थिए।
रिचाका हजुरबुबा मातृकाप्रसाद कोइराला कांग्रेसका संस्थापक नेतामध्येका एक हुन्। उनका पिता कमलप्रसाद कोइराला भने परिवारभित्र फरक राजनीतिक धारमा पुगेका थिए। उनी कम्युनिस्ट राजनीतिमा सक्रिय रहे, पछि एमालेको केन्द्रीय नेतृत्वमा समेत पुगे र सांसद तथा दक्षिण कोरियाका लागि नेपाली राजदूत पनि बने।
परिवारको यही फरक राजनीतिक पृष्ठभूमिका बीच रिचाले करिब पाँच वर्षअघि कांग्रेस राजनीतिमा प्रवेश गरेकी थिइन्। उनले मातृकाप्रसाद कोइराला प्रतिष्ठानको नेतृत्व गर्दै विभिन्न गतिविधि पनि गर्दै आएकी छन्।
कांग्रेसभित्रको आन्तरिक शक्ति-सन्तुलन फेरि चर्चामा रहेको बेला रिचाले गगन थापालाई आफ्नो नेता मानेर संस्थापन पक्षबाट अघि बढेको बताएकी छन्। यद्यपि कोइराला परिवारकै शशांक कोइराला अर्को समूहको नेतृत्वमा छन् भने शेखर कोइराला अलग भूमिकामा देखिएका छन्।
रिचाले आफू व्यक्तिगत राजनीतिक महत्वाकांक्षाभन्दा पनि परिवारको लोकतान्त्रिक विरासत जोगाउने उद्देश्यले कांग्रेस राजनीतिमा सक्रिय भएको बताएकी छन्।
‘रुख, चारतारा र कांग्रेसको विरासत जहाँ छ, म त्यहीँ रहन्छु,’ उनको भनाइ छ।
उनले कांग्रेस नेता तथा कार्यकर्ताबाट हौसला पाएको र महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुने विश्वास व्यक्त गरेकी छन्।
काठमाडौँ–१ को महाधिवेशन प्रतिनिधि चयनका लागि बानेश्वरस्थित आनन्द बैंक्वेटमा मतदान भइरहेको छ।
मातृकाप्रसाद कोइरालाको योगदान कांग्रेसको इतिहासमा बीपी वा गिरिजाप्रसाद कोइरालाजति चर्चामा नआए पनि उनी दुवैभन्दा जेठा थिए र कांग्रेसको नेतृत्व तथा प्रधानमन्त्रीको जिम्मेवारी पनि उनीहरूभन्दा पहिले सम्हालेका थिए।
पछि कांग्रेसभित्रको आन्तरिक विवादसँगै मातृकाप्रसाद सक्रिय राजनीतिबाट टाढिएपछि उनको परिवार पनि कांग्रेसको मूलधारबाट क्रमशः अलग देखिएको थियो। अहिले उनकी नातिनी रिचाको सक्रियतासँगै कोइराला परिवारको त्यो शाखा फेरि कांग्रेस राजनीतिमा प्रत्यक्ष रूपमा देखिन थालेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।