काठमाण्डौ । दसैँ नजिकिँदै गर्दा असोज १७ गतेदेखि लगातार तीन दिन भीषण वर्षा हुने भन्दै सामाजिक सञ्जालमा फैलिएको सूचना भ्रामक रहेको जल तथा मौसम विज्ञान विभागले स्पष्ट पारेको छ।
पछिल्लो लामो वर्षापछि पुनः ठूलो पानी पर्ने हल्लाले सर्वसाधारणमा चिन्ता बढेपछि मौसम पूर्वानुमान महाशाखाले आधिकारिक सूचना जारी गर्दै विभागले त्यस्तो कुनै भारी वर्षाको पूर्वानुमान नगरेको जनाएको हो।
महाशाखाका अनुसार हालको मौसमी गतिविधिमा ठूलो फेरबदल देखिएको छैन। त्यसैले तथ्यहीन सूचना र अफवाहको पछि नलाग्न तथा आधिकारिक स्रोतबाट मात्रै मौसमसम्बन्धी जानकारी लिन विभागले आग्रह गरेको छ।
यद्यपि आगामी केही दिन मौसम पूर्ण रूपमा सफा रहने भने देखिँदैन। मौसमविद् विनोद पोखरेलका अनुसार पश्चिमी वायुको प्रभावका कारण बिहीबारदेखि घाम कम लाग्ने र पहाडी भूभागका केही स्थानमा हल्का वर्षा हुन सक्नेछ।
उनका अनुसार विशेषगरी आइतबारदेखि घटस्थापनासम्मको अवधिमा मौसममा थप परिवर्तन देखिन सक्छ। यस अवधिमा आकाश बदली हुने, केही स्थानमा झरी पर्ने र तापक्रम घटेर चिसो महसुस हुने सम्भावना छ।
माथिल्लो वायुमण्डलमा विकसित हुने न्यूनचापीय प्रणालीका कारण सामान्य वर्षा हुन सक्ने भए पनि सामाजिक सञ्जालमा फैलिएको जस्तो लगातार भीषण वर्षाको अवस्था अहिलेको पूर्वानुमानमा नरहेको बताइएको छ।
यसैले दसैँको मुखमा ठूलो वर्षाको त्रास फैलाइहाल्नुपर्ने अवस्था नभए पनि हल्का झरी, बदली र चिसो बढ्न सक्ने भएकाले यात्रा तथा चाडपर्वको तयारी गर्दा मौसमको अद्यावधिक जानकारीमा ध्यान दिन विज्ञहरूले सुझाव दिएका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।