काठमाण्डौ । नेपाल ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष प्रियराज रेग्मीले सामाजिक सञ्जालमा दिइने निःशुल्क सुझाव र परामर्शले सेयर बजार सुधार हुन नसक्ने बताएका छन्।
अर्थ समितिको बैठकमा सेयर बजारका विषयमा भएको छलफलमा बोल्दै रेग्मीले सामाजिक सञ्जाल प्रभावकारी रूपमा नियमन हुन नसक्दा बजारमा समस्या सिर्जना भएको बताए। उनका अनुसार सामाजिक सञ्जालमार्फत जथाभावी सुझाव तथा हल्ला फैलिँदा बजार प्रभावित हुने गरेको छ।
रेग्मीले सेयर बजारमा योग्य संस्थागत लगानीकर्ताको भूमिका बढाउन सरकारलाई सुझाव दिए। व्यक्तिगत लगानीकर्तालाई संरक्षण गर्दै संस्थागत लगानीकर्तालाई बजारको प्रमुख चालक बनाउने नीति भए पनि व्यवहारमा संस्थागत लगानीकर्ताको प्रवेश खुम्च्याइएको उनको भनाइ छ।
संस्थागत लगानीकर्तालाई बजारमा आउन करको दरसमेत बाधक रहेको उनले बताए। व्यक्तिगत र संस्थागत लगानीकर्ताबीचको कर संरचनामा रहेको अन्तरका कारण संस्थागत लगानीकर्ता आकर्षित हुन नसकेको उनको दाबी छ।
‘धेरै पहिलेदेखि संस्थागत लगानीकर्तालाई बजारको ड्राइभर बनाउने र व्यक्तिगत लगानीकर्तालाई संरक्षण गर्ने भनिएको थियो,’ उनले भने, ‘तर संस्थागत लगानीकर्तालाई खुम्च्याएर राखेका छौँ, प्रवेशमै रोकिरहेका छौँ।’
व्यक्तिगत लगानीकर्ताको बाहुल्य रहेको बजारमा हल्ला र अस्थिरता बढ्न सक्ने भन्दै उनले संस्थागत लगानीकर्ताको सहभागिता विस्तार गर्नुपर्नेमा जोड दिए।
त्यस्तै, आईपीओ निष्कासनसम्बन्धी व्यवस्थामा समेत सुधार आवश्यक रहेको उनले बताए। आईपीओ जारी गर्ने कम्पनीमा कम्तीमा ३० प्रतिशत संस्थापक स्वामित्व कायम राख्नुपर्ने उनको सुझाव छ।
आईपीओमार्फत उठाइएको रकम कहाँ र कसरी प्रयोग भइरहेको छ भन्ने विषयमा प्रभावकारी निगरानी गर्नुपर्ने उनले बताए। कम्पनीले सर्वसाधारणबाट उठाएको रकम तोकिएको तथा उचित क्षेत्रमा प्रयोग गरेको छ कि छैन भन्ने सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ।
रेग्मीले आईपीओ निष्कासनको अनुमति दिनुअघि कम्पनीको स्वामित्व संरचना, संस्थापकको अवस्था र कम्पनीको पृष्ठभूमिबारे समेत पर्याप्त अध्ययन गर्नुपर्ने सुझाव दिए।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।