बुधबार, आश्विन १४,२०८३ 07:42:44
Bizshala
  • बुधबार, आश्विन १४,२०८३ 07:42:44
Bizshala
Global IME Bank Limited

त्रिविको अनलाइन ट्रान्सक्रिप्ट सेवा कागजमै डिजिटल, विद्यार्थीको सास्ती उस्तै

Bizshala
त्रिविको अनलाइन ट्रान्सक्रिप्ट सेवा कागजमै डिजिटल, विद्यार्थीको सास्ती उस्तै
New Office

 

 काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयले ट्रान्सक्रिप्टलगायत शैक्षिक प्रमाणपत्र वितरण प्रक्रिया अनलाइन बनाएको दाबी गरे पनि विद्यार्थीले भोग्ने झन्झट भने घट्न सकेको छैन। अनलाइनबाट आवेदन, भौचर र राजस्व बुझाएपछि पनि विद्यार्थीहरू महिनौँसम्म ट्रान्सक्रिप्टको प्रतीक्षामा बस्न बाध्य छन्।

नाम, रजिस्ट्रेसन नम्बर, बाबुको नाम वा अन्य विवरणमा त्रुटि देखिए विद्यार्थीले अझै परीक्षा नियन्त्रण कार्यालयमै पुगेर कागजी प्रक्रिया पूरा गर्नुपर्ने अवस्था छ। अनलाइन सेवा सञ्चालनमा आए पनि भौचर डाउनलोड गरेर पुनः भौतिक रूपमा दर्ता गराउनुपर्ने बाध्यताले प्रणालीको प्रभावकारितामाथि नै प्रश्न उठेको छ।

शिक्षाशास्त्र, व्यवस्थापन र मानविकीलगायत संकायका विद्यार्थीले ट्रान्सक्रिप्ट तथा प्रोभिजनल प्रमाणपत्रका लागि अनलाइन राजस्व बुझाए पनि त्यसपछि पुनः फाराम भर्ने, छाप लगाउने र कार्यालय धाउने प्रक्रिया कायमै रहेको गुनासो गरेका छन्।

कागजात दुरुस्त भए ७ देखि १० दिनमै ट्रान्सक्रिप्ट उपलब्ध गराइने त्रिविको दाबी छ। तर व्यवहारमा कतिपय विद्यार्थीले महिनौँसम्म प्रमाणपत्र नपाएको अवस्था छ।

नौ महिना बित्दा पनि ट्रान्सक्रिप्ट आएन

जनप्रशासनमा स्नातकोत्तर गरेका दीपक ऐरले सबै प्रक्रिया पूरा गरी राजस्व बुझाएको नौ महिना बितिसक्दा पनि ट्रान्सक्रिप्ट पाउन सकेका छैनन्।

उनले अघिल्लो वर्षको कात्तिक २९ गते नै आवश्यक भौचर बुझाएका थिए। तर परीक्षा नियन्त्रण कार्यालय पुग्दा कर्मचारीबाट बारम्बार ‘बनेको छैन’ भन्ने जवाफ पाएको उनको गुनासो छ।

कहिले ‘टेक्निकल एरर’, कहिले सफ्टवेयरको समस्या र कहिले प्राविधिक कर्मचारी उपलब्ध नभएको कारण देखाउँदै काम रोकिएको विद्यार्थीहरूको भनाइ छ।

सम्पर्क नम्बर छाडेर फर्किएका विद्यार्थीलाई फोन नगर्ने, फोन नउठाउने र सन्देशको जवाफसमेत नदिने प्रवृत्तिले समस्या थप चर्किएको उनीहरूको गुनासो छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

आश्वासन धेरै, समाधान छैन

समस्या समाधान नभएपछि विद्यार्थीहरूले परीक्षा नियन्त्रकलगायत उच्च अधिकारीसमक्ष समेत गुनासो पुर्‍याएका छन्।

अधिकारीहरूले कमजोरी स्वीकार गर्दै समस्या समाधान गर्ने र फोन वा ह्वाट्सएपमार्फत जानकारी दिने आश्वासन दिए पनि महिनौँसम्म काम अघि नबढेको विद्यार्थीहरूले बताएका छन्।

कतिपय जटिल विषयमा प्राज्ञिक परिषद्को निर्णय आवश्यक पर्ने भएकाले परिषद्को बैठक नबस्दा ट्रान्सक्रिप्ट रोकिएको परीक्षा नियन्त्रण कार्यालयको तर्क छ।

सयौँ विद्यार्थी प्रभावित

त्रिवि केन्द्रीय क्याम्पसका स्ववियु सचिव हिक्मतकुमार बुढाका अनुसार मौका परीक्षा, पुराना रजिस्ट्रेसन तथा विशेष परिस्थितिमा परीक्षा दिएका विद्यार्थीका समस्या बढी देखिएका छन्।

उनका अनुसार पनिकाभित्रका प्रशासनिक तथा प्राविधिक समस्या समयमै समाधान नहुँदा दूरदराजबाट आउने विद्यार्थीले बारम्बार काठमाडौं धाउनुपर्ने अवस्था सिर्जना भएको छ।

वि.सं. २०५३ देखि २०७३ सम्म मौका परीक्षा दिएका कतिपय विद्यार्थीको कागजात अपुग हुँदा पनि ट्रान्सक्रिप्ट रोकिएको बताइएको छ।

पहिलो वर्ष परीक्षा दिएर बीचका वर्ष छाडेका र पछि मौका परीक्षा दिएका कतिपय विद्यार्थीको अभिलेख पुरानो प्रणालीसँग मेल नखाँदा अहिले समस्या देखिएको त्रिविको भनाइ छ।

झन्डै ३०० निवेदन

ट्रान्सक्रिप्ट उपलब्ध गराइदिन माग गर्दै हालसम्म करिब ३०० विद्यार्थीले परीक्षा नियन्त्रण कार्यालयमा निवेदन दिएको बताइएको छ।

परीक्षा नियन्त्रण कार्यालयका सहनियन्त्रक सूर्यकान्त कलौनीका अनुसार कतिपय समस्या सम्बन्धित क्याम्पसले भर्नाका क्रममा आवश्यक प्रक्रिया पूरा नगर्दा सिर्जना भएका हुन्।

आवश्यक प्रमाण पेस गरेपछि विवरण सच्याउन सकिने भए पनि नियमसँग जोडिएका विषयमा भने प्राज्ञिक परिषद्कै निर्णय आवश्यक पर्ने उनले बताएका छन्।

डिजिटलाइजेसनमाथि प्रश्न

त्रिविले सेवा डिजिटल बनाएको घोषणा गरे पनि विद्यार्थी अझै पुराना ढड्डा, छाप, हस्ताक्षर र कागजी प्रक्रियामा निर्भर हुनुपर्ने अवस्थाले विश्वविद्यालयको डिजिटलाइजेसनको गति र गुणस्तरमाथि प्रश्न उठाएको छ।

लामो समयदेखि एउटै प्रशासनिक संरचनामा काम गरिरहेका कर्मचारी प्रविधिमैत्री बन्न नसक्नु, सफ्टवेयर तथा डाटा प्रणाली समयमै अद्यावधिक नहुनु र जिम्मेवारी स्पष्ट नहुनु पनि समस्या समाधान हुन नसक्नुका कारण मानिएका छन्।

विद्यार्थीका लागि अनलाइन आवेदन प्रणालीको अर्थ कार्यालय धाउने झन्झट घट्नु हो। तर त्रिविको हकमा अनलाइन आवेदनपछि पनि विद्यार्थीले उही कार्यालय, उही लाइन र उही कागजी प्रक्रिया पछ्याउनुपर्ने अवस्था कायमै छ।

यसले त्रिविको ट्रान्सक्रिप्ट सेवा ‘अनलाइन’ बने पनि विद्यार्थीको सास्ती भने अझै ‘अफलाइन’ नै रहेको देखाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.