काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बालेन शाह नेतृत्वको सरकारको ६ महिनाको कार्यसम्पादनमाथि कडा प्रश्न उठाएको छ। प्रतिनिधिसभाको बैठकमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बलियो जनमत र बहुमत प्राप्त सरकारको शासन अपेक्षाअनुसार प्रभावकारी नदेखिएको टिप्पणी गरे।
उनले पाँच वर्षका लागि स्पष्ट जनादेश पाएको सरकारसँग पर्याप्त राजनीतिक शक्ति रहे पनि त्यसलाई जनताको जीवनस्तर सुधार र मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन उपयोग गर्ने शासकीय कौशल नदेखिएको बताए।
‘हामीले परिवर्तन खोजेका हौँ, कुनै व्यक्तिको अहङ्कार खोजेका होइनौँ,’ आङ्देम्बेले भने, ‘हामीले स्थिरता खोजेका हौँ, स्थापित विधि र परम्पराको उल्लङ्घन तथा राजकीय व्यवहारमा असन्तुलन होइन। सबैभन्दा महत्वपूर्ण कुरा, हामीले सुशासनको सरकार खोजेका हौँ, नेतृत्वको काँचो लहड र हुकुमी दम्भ होइन।’
उनले सरकारको शासन शैली स्पष्ट सिद्धान्त, प्रक्रिया र विधिबाट निर्देशित हुनुपर्ने उल्लेख गर्दै नेतृत्वको व्यक्तिगत इच्छा शासनको आधार बन्न नहुने बताए।
सरकार सामान्य र साना विवादमै निरन्तर अल्झिरहने हो भने आर्थिक विकास, समृद्धि र नागरिकको अग्रगमनको अपेक्षा पूरा हुन कठिन हुने उनको भनाइ थियो।
‘सरकारसँग रहेको बहुमतको शक्तिलाई आम नेपालीको जीवन उकास्न र मुलुकलाई समृद्धिपथमा अघि बढाउन प्रयोग गर्ने शासकीय कौशलको अभाव किन देखिएको छ ? आजको मूल प्रश्न यही हो,’ उनले भने।
कांग्रेसले सरकारको पहिलो ६ महिनालाई नागरिकले अपेक्षा गरेअनुसार उत्साहजनक परिणाम दिन नसकेको अवधिका रूपमा चित्रण गरेको छ। ठूलो शासकीय परिवर्तनको अपेक्षा गरेका नागरिकले व्यवहारमा भने संक्रमणकालीन अवस्थाकै निरन्तरता र कठिन जनजीवन महसुस गरिरहेको आङ्देम्बेको दाबी छ।
सरकारको कार्यशैलीमा अनुभवको कमीसमेत देखिएको टिप्पणी गर्दै उनले ‘भूलचुक लिने–दिने’ शैलीबाट शासन सञ्चालन हुन नहुने बताए।
उनले अब नेपाललाई अर्को राजनीतिक परिवर्तनका नाममा नयाँ अस्थिरता होइन, प्राप्त परिवर्तनलाई ठोस नतिजामा बदल्ने सक्षम शासन आवश्यक रहेको बताए।
‘लोकप्रियतावाद होइन, संवाद चाहिएको छ। एकाधिकार र अधिनायकवाद होइन, सहकार्य चाहिएको छ,’ उनले भने, ‘सामाजिक सञ्जालबाट घोषणा मात्रै होइन, वास्तविक कार्यान्वयन चाहिएको छ।’
सरकारको सफलता संसदमा रहेको बहुमतको अंकबाट नभई नागरिकको जीवनमा आएको परिवर्तनबाट मापन हुनुपर्ने उनको भनाइ थियो।
‘गणितीय सङ्ख्या होइन, प्रभावकारी नतिजा चाहिएको छ,’ आङ्देम्बेले भने, ‘शासन मात्र होइन, सामाजिक न्याय, सुशासन र समुन्नति चाहिएको छ। सबैभन्दा ठूलो कुरा निराशामा रहेका जनतालाई सरकार छ भन्ने भरोसा चाहिएको छ।’
उनले सरकारले आफ्नै कामको वस्तुनिष्ठ समीक्षा गर्नुपर्ने र आगामी संसद् अधिवेशनमा घोषणाको सूचीभन्दा उपलब्धिको नतिजा लिएर उपस्थित हुनुपर्ने बताए।
‘प्रतिपक्षले विरोध गरेपछि मात्र होइन, सर्वप्रथम सरकारले आफैँ आफ्नो समीक्षा गरोस्,’ उनले भने, ‘जनतामा आशा जगाउने काम कति भयो भन्ने प्रश्नको जवाफ नतिजाबाट दिनुपर्छ।’


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।