काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई संगठनात्मक रूपमा थप बलियो बनाउँदै अघि बढ्न सके अहिले सामना गर्नुपरेको धक्काबाट माथि उठेर अझ सशक्त बन्न सकिने बताएका छन्।
शुक्रबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय कमिटीमा मनोनीत सदस्यहरूलाई शपथग्रहण गराउँदै अध्यक्ष ओलीले मुलुकको समृद्धिको लक्ष्य बोकेर अघि बढेको पार्टीले यात्राका क्रममा कहिलेकाहीँ धक्का व्यहोर्नुपर्ने अवस्था आउन सक्ने बताए। तर त्यस्ता चुनौतीबाट निराश नभई पार्टीलाई मजबुत बनाउँदै अघि बढे विगतको भन्दा अझ बलियो अवस्थामा पुग्न सकिने उनको भनाइ थियो।
ओलीले मुलुकको विकास र समृद्धिको अभियानमा अघि बढेको एमालेलाई रोक्न विभिन्न पक्षबाट प्रयास भइरहेको दाबीसमेत गरे। देशमा ‘प्रतिगमन’ भएको र त्यसको असर पार्टीमाथि पनि परेको उल्लेख गर्दै उनले सानातिना विषयमा अल्झिनुभन्दा फराकिलो सोचका साथ अघि बढ्न नेता–कार्यकर्तालाई आग्रह गरे।
“पार्टीलाई बलियो बनाएर अघि बढ्न सकियो भने अहिले लागेको धक्काबाट धेरै माथि उठ्न सकिन्छ,” ओलीको भनाइ थियो। पार्टी कठिन अवस्थाबाट फेरि उठ्न सक्ने मात्र नभई विगतको अवस्थाभन्दा अझ अगाडि जान सक्ने विश्वाससमेत उनले व्यक्त गरे।
नवनियुक्त केन्द्रीय सदस्यहरूलाई जिम्मेवार र अनुकरणीय भूमिका निर्वाह गर्न निर्देशन दिँदै ओलीले पार्टी नेतृत्वमा रहेका व्यक्तिहरू समाजमा ‘आदर्श व्यक्ति’ का रूपमा स्थापित हुनुपर्ने बताए। गलत आचरण त्यागेर शुद्धता, शालीनता र विनम्रता प्रदर्शन गर्नुपर्नेमा उनको जोड थियो।
उनले अहिलेको समय प्रविधि र सूचना युद्धको युग भएको उल्लेख गर्दै नेता–कार्यकर्ताले आधुनिक प्रविधि, सूचना प्रवाह र बदलिँदो सामाजिक परिवेशलाई बुझ्नुपर्ने बताए। ‘आईटी वार’ को वर्तमान अवस्थामा पुरानै शैलीले मात्र राजनीतिक गतिविधि प्रभावकारी नहुने संकेत गर्दै उनले समयअनुकूल ज्ञान, प्रविधि र कार्यशैली अपनाउनुपर्नेमा जोड दिए।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।