काठमाण्डौ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा उद्घाटन हुँदैछ। महाधिवेशन उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी हुने भएका छन्।
कांग्रेसले महाधिवेशन उद्घाटनका लागि निवर्तमान सभापति शेरबहादुर देउवालाई समेत निमन्त्रणा गरेको छ। देउवा सहभागी नभए पार्टी सभापति गगन थापाले महाधिवेशन उद्घाटन गर्ने तयारी छ।
महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना दिन कांग्रेसले स्वदेश तथा विदेशका विभिन्न राजनीतिक दलका प्रतिनिधिलाई निमन्त्रणा गरेको जनाएको छ।
कांग्रेस नेताहरूका अनुसार उद्घाटन समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत सहभागी हुनेछन्।
त्यस्तै, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि उद्घाटन समारोहमा सहभागी हुने उनको सचिवालयले जनाएको छ।
तर, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने कांग्रेस महाधिवेशनमा सहभागी नहुने भएका छन्। एमाले प्रवक्ता निरज आचार्यका अनुसार ओलीको सट्टा महासचिव शंकर पोखरेल उद्घाटन समारोहमा सहभागी हुनेछन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।