काठमाण्डौ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पार्टी सभापति गगन थापा नेतृत्वको संस्थापन पक्षले आयोजना गरेको १५औँ महाधिवेशनमा सहभागी नहुने भएका छन्।
कांग्रेसले महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन देउवालाई औपचारिक निमन्त्रणा गरेको थियो। सभापति गगन थापाको हस्ताक्षरसहितको निमन्त्रणा पत्र लिएर सहमहामन्त्री योगेन्द्र चौधरीलगायत नेताहरू शनिबार देउवा निवास महाराजगञ्ज पुगेका थिए।
तर देउवा महाधिवेशनमा सहभागी हुने कुनै कार्यक्रम नरहेको नेता डा. प्रकाशशरण महतले बताएका छन्। उनका अनुसार देउवाले उद्घाटन समारोहमा सहभागी हुने जानकारी दिएका छैनन्।
महतले देउवा महाधिवेशनमा सहभागी हुने प्रचार गलत भएको दाबी गर्दै भने, ‘मसँगको कुराकानीमा उहाँ उद्घाटन सत्रमा जाने कुरा भएको छैन।’
देउवा र थापा पक्षबीचको राजनीतिक विवादका कारण कांग्रेसमा दुई समानान्तर गतिविधि अघि बढिरहेका छन्। देउवा पक्षले गगन थापालाई पार्टी सभापतिको रूपमा स्वीकार गरेको छैन।
देउवा १४औँ महाधिवेशनबाट कांग्रेस सभापतिमा निर्वाचित भएका थिए। त्यसबेला गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्री बनेका थिए। तर जेनजी आन्दोलनपछि गत पुसको अन्तिम साता कांग्रेसले विशेष महाधिवेशन आयोजना गर्दै थापालाई सभापति चयन गरेको थियो। देउवा पक्षले उक्त विशेष महाधिवेशनलाई मान्यता दिएको छैन।
थापाको नेतृत्वमा आयोजित १५औँ महाधिवेशनमा कांग्रेसका अधिकांश नेता सहभागी भएका छन्। तर देउवा पक्षमा रहेका कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, रमेश लेखक र विमलेन्द्र निधिलगायत नेताहरू देउवासँगै रहेका छन्।
यसैबीच देउवा पक्षले पनि असोज १५ गतेदेखि छुट्टै महाधिवेशन प्रक्रिया अघि बढाएको छ। उक्त पक्षले केन्द्रीय महाधिवेशन मंसिरमा गर्ने तयारी गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।