काठमाण्डौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश विकासका लागि दीर्घकालीन योजना बनाएर त्यसको कार्यान्वयनमा राजनीतिक दलहरूबीच प्रतिस्पर्धा हुनुपर्ने बताएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै भट्टराईले नेपालले आगामी २० वर्षमा विकसित मुलुकको स्तरमा पुग्ने लक्ष्यसहित स्पष्ट योजना बनाउनुपर्ने बताएका हुन्।
उनले मलेसिया, दक्षिण कोरिया, सिंगापुर र चीनजस्ता देशहरूले छोटो समयमै उल्लेखनीय आर्थिक तथा सामाजिक प्रगति गरेको उदाहरण दिँदै नेपालले पनि विकासको स्पष्ट मार्गचित्र बनाउनुपर्ने बताए।
‘अहिले पनि समय छ, सबैले सोचौँ। हाम्रै जीवनकालमा मलेसिया, कोरिया, सिंगापुर र चीन ग्लोबल साउथबाट ग्लोबल नर्थतर्फ पुगे। हामी पनि आगामी २० वर्षमा त्यहाँ कसरी पुग्ने भन्ने योजना बनाउनुपर्छ,’ उनले भने।
भट्टराईले राष्ट्रिय विकासको साझा योजना बनाएर त्यसलाई कार्यान्वयन गर्ने विषयमा राजनीतिक दलहरूले स्वस्थ प्रतिस्पर्धा गर्नुपर्ने धारणा राखे।
‘त्यसको एउटा योजना बनाऔँ। त्यसलाई सबै पार्टीहरूले कसरी कार्यान्वयन गर्ने भनेर प्रतिस्पर्धा गरौँ। त्यसो गरे मात्रै देश बन्छ,’ उनले भने।
उनले राजनीतिक स्थिरता र देशको भविष्यका लागि नयाँ पुस्तामाथि विश्वास गर्नुपर्नेमा पनि जोड दिए।
‘अब पाठ सिकौँ। अब हामीले नयाँ पुस्तालाई विश्वास गर्नुपर्छ,’ भट्टराईले भने।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।