काठमाण्डौ । सेयरबजारमा देखिएको लगातारको गिरावट र कमजोर कारोबारले सेयर लगानीकर्ताको मनोबलमा स्पष्ट असर पारेको देखिएको छ ।
बजार रातो हुँदा सामान्यतया ब्रोकर हाउसमा नेप्से, कम्पनीका मूल्य र खरिद–बिक्री रणनीतिबारे चर्को बहस हुने गथ्र्यो । तर अहिले दृश्य केही फरक देखिएको छ । कतै लगानीकर्ता नै भेटिँदैनन्, कतै उपस्थित लगानीकर्ता पनि सेयर बजारभन्दा व्यापार, राजनीति र अन्तर्राष्ट्रिय घटनाक्रमका विषयमा बढी गफिन्छन् ।
बजारको यही मनोविज्ञान बुझ्न बिजशालाको नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’ रिर्पोटिङका लागि सोमबार नक्साल र अनामनगरका चारवटा ब्रोकर हाउस पुगेका थियौं ।
हामी ब्रोकर नम्बर ७१ शुभकामना सेक्युरिटिज, ब्रोकर नम्बर ३२ प्रिमियर सेक्युरिटिज, ब्रोकर नम्बर ३४ भिजन सेक्युरिटिज र ब्रोकर नम्बर ५७ आर्यतारा इन्भेस्टमेन्ट एण्ड सेक्युरिटिजमा स्थलगत अवलोकन गरेका थियौं ।
बजारभन्दा व्यापारको चिन्ता
सर्वप्रथम हामी प्रिमियर सेक्युरिटिजमा पुग्यौ । नेप्से परिसूचक बजार खुल्ने बित्तिकै रातो रङमा देखिएको थियो । उक्त ब्रोकरमा केही लगानीकर्ता समूह बनाएर गफिइरहेका थिए । तर छलफल बजारको प्राविधिक पक्षभन्दा अर्थतन्त्रको सुस्ततामा बढी केन्द्रित थियो ।
करिब ५० वर्ष नाघेका एक लगानीकर्ता लगातारको बजार गिरावटप्रति निराश देखिन्थे । ‘अहिले सेयर बजार मात्रै होइन, व्यापार पनि छैन,’ उनले चिन्ता व्यक्त गर्दै भने, ‘बजार नै चलायमान छैन । तारागाउँमा तारे होटल खुले, तर नयाँ लगानी गर्न मान्छे अघि सर्दैनन् ।’
केही समयमै त्यहाँको कुराकानी सेयर बजारबाट मोडिएर अन्तर्राष्ट्रिय राजनीतितर्फ पुग्यो । अर्का लगानीकर्ताले भेनेजुयलाको अर्थतन्त्र, तेल र अमेरिका, चीन तथा रूससँगको सम्बन्धबारे चर्चा गर्न थाले ।
ब्रोकर हाउसको यो दृश्यले लगानीकर्तामा बजारप्रतिको उत्साह कमजोर हुँदा उनीहरूको ध्यान अन्य विषयतर्फ मोडिएको संकेत गरिरहेको थियो ।
भिजनमा सुनसान
त्यसपछि हामी अनामनगरमा रहेको भिजन सेक्युरिटिजमा पुग्यौं । बजार घट्ने क्रम रोकिएको थिएन । उक्त ब्रोकरमा दृश्य अझ फरक थियो । लगानीकर्ताको उपस्थिति लगभग शून्य नै थियो ।
कारोबार सुस्त र बजार लगातार दबाबमा रहँदा ब्रोकर हाउसमा लगानीकर्ताको चहलपहलसमेत घटेको अनुभूति त्यहाँ स्पष्ट देखिन्थ्यो । लगानीकर्ता उपस्थित नभइसकेपछि बजारप्रतिको केही तथ्यगत कुराहरु नआउने भएकाले हामी त्यहाँबाट निस्कियौं ।
आर्यतारामा चहलपहल, तर निराशा उस्तै
नेप्से परिसूचक दोहोरो अंकले घटिसकेको थियो । ब्रोकर नम्बर ५७ आर्यतारा इन्भेस्टमेन्ट एण्ड सेक्युरिटिजमा भने लगानीकर्ताको उपस्थिति बाक्लो उपस्थिति थियो ।
त्यहाँ बजारको उतारचढावबारे छलफल भइरहेको थियो । तर कुराकानीमा उत्साहभन्दा निराशा र आशंका बढी सुनिन्थ्यो । एक युवा लगानीकर्ताले कारोबार घटेको र राजनीतिक वातावरणले समेत बजारमा असर पारेको टिप्पणी गरे ।
‘अहिले कारोबार छैन, सेयर घटिरहेको छ,’ उनले भने, ‘बजार किन यसरी लगातार कमजोर भइरहेको छ भन्ने नै बुझ्न सकिएको छैन ।’
उनको कुराकानी केही बेरमै देशको राजनीतितर्फ मोडियो । त्यहीँ करिब ४० वर्ष नाघेकी एक महिला लगानीकर्ता भने आफूले किनबेच गरेका कम्पनीको हिसाब गरिरहेकी थिइन् ।
‘हाथवे र भोटेकोशीको सेयर के भयो ?’ उनले भनिन्, ‘मैलुङ खोला ३२ मा बेचेँ । २६ मा किनेको थिएँ । ३० देखि ६० सम्म हेर्नुपर्ने रहेछ । निफ्राको सेयरमा हाम फाल्न नहुने रहेछ ।’
उनको भनाइमा पछुतो, सिकाइ र अर्को अवसरको प्रतीक्षा तीनै कुरा झल्किन्थ्यो । केही समयपछि आर्यताराको छलफल पनि बजारबाट राजनीतितर्फ मोडियो ।
लगानीकर्ताहरू नेपाली कांग्रेसको महाधिवेशनबारे चर्चा गर्न थाले । करिब ५५ वर्ष नाघेकी एक महिला लगानीकर्ताले गफको नेतृत्व गर्दै भनिन्, ‘आज कांग्रेसको बन्दसत्र छ, भोलिसम्म चल्छ रे । त्यसपछि हाम्रो सेयर बजार कस्तो रहन्छ होला ?’
उनको प्रश्नमा बजारको वर्तमान मनोविज्ञानसमेत झल्किन्थ्यो—लगानीकर्ताहरू अहिले कम्पनीको वित्तीय अवस्था वा प्राविधिक चार्ट मात्रै होइन, राजनीतिक घटनाक्रमबाट समेत बजारको दिशा खोजिरहेका छन् ।
ग्राउण्ड जिरोको दृश्यः बजार रातो, मनोबल पनि कमजोर
सोमबारको स्थलगत अवलोकनमा एउटा कुरा भने स्पष्ट देखियो—लगातारको गिरावटले लगानीकर्तालाई थकित बनाएको छ ।
कतिपय ब्रोकर हाउस सुनसान छन् । जहाँ लगानीकर्ता छन्, त्यहाँ पनि नेप्सेभन्दा अर्थतन्त्र, राजनीति र अन्तर्राष्ट्रिय घटनाक्रमका विषयले बढी ठाउँ पाएका छन् ।
बजार बढ्दा ब्रोकर हाउसमा सुनिने ‘कुन सेयर किन्ने ?’ भन्ने उत्साह अहिले ‘बजार कहिले सुध्रिन्छ ?’ भन्ने प्रश्नमा बदलिएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।