काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता हुँदैछ।
निर्वाचन समितिका अनुसार आजै अपराह्न ४ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन, ४ः३० देखि ५ः३० बजेसम्म दाबी–विरोध र बेलुका ७ बजे दोस्रो नामावली प्रकाशन हुनेछ। असोज २१ गते बिहान ९ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिनेछ भने १० बजे अन्तिम नामावली सार्वजनिक गरिनेछ। असोज २२ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ।
मतदान राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा हुनेछ। मतदान सकिएलगत्तै मतगणना सुरु गर्ने तयारी छ। निर्वाचनमा विद्युतीय भोटिङ मेसिन प्रयोग नहुने कांग्रेसका एक पदाधिकारीले बताएका छन्।
संशोधित विधानअनुसार कांग्रेसको केन्द्रीय कार्यसमिति २९७ सदस्यीय हुनेछ। सभापति, वरिष्ठ उपसभापति, चार उपसभापति, तीन महामन्त्री र १५ सहमहामन्त्री रहनेछन्। कोषाध्यक्ष केन्द्रीय सदस्यमध्येबाट चयन हुने व्यवस्था छ।
विभिन्न समावेशी समूह, प्रदेश, युवा, अपाङ्गता भएका व्यक्ति तथा प्रजातन्त्र सेनानीसहितका प्रतिनिधित्वबाट केन्द्रीय सदस्य चयन हुनेछन्। साथै, केन्द्रीय कार्यसमितिले ६६ जना सदस्य मनोनीत गर्नेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।