काठमाडौँ। नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली सार्वजनिक गरिएको छ। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार अन्तिम नामावलीमा सात हजार ११४ प्रतिनिधि कायम भएका छन्।
निर्वाचन समितिको कार्यतालिकाअनुसार मतदाता नामावलीमाथिको दाबी–विरोध र जाँचबुझपछि अन्तिम सूची प्रकाशन गरिएको हो। उम्मेदवारको मनोनयन दर्ता फारम वितरणसँगै दिउँसो १२ः३० बजेदेखि ४ बजेसम्म मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम छ।
सोमबारको बन्दसत्रले पार्टीको विधान संशोधन गर्दै २९७ सदस्यीय नयाँ केन्द्रीय कार्यसमितिको व्यवस्था गरेको छ। सोही व्यवस्थाअनुसार निर्वाचन हुन लागेको कांग्रेसले जनाएको छ।
महाधिवेशन व्यवस्थापनका लागि २०० भन्दा बढी स्वयंसेवक परिचालन गरिएको छ। स्वयंसेवक व्यवस्थापन समितिका संयोजक गणेश लामाका अनुसार बन्दसत्र र निर्वाचनस्थलमा प्रतिनिधिको सहजीकरणका लागि स्वयंसेवक खटाइएको हो।
कांग्रेसका अनुसार महाधिवेशनमा सहभागी हुन देश तथा विदेशबाट करिब सात हजार ५०० प्रतिनिधि काठमाडौँ आएका छन्। आइतबार सुरु भएको महाधिवेशनमा आज र भोलि बन्दसत्र तथा असोज २१ र २२ गते निर्वाचन गर्ने कार्यतालिका छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।