काठमाण्डौ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएको छ । सात हजार ११४ महाधिवेशन प्रतिनिधिले यसपटक कांग्रेसको नयाँ नेतृत्व चयन गर्नेछन् ।
निर्वाचन समितिले काठमाडौंको राष्ट्रिय सभागृहमा निर्वाचन कार्यालय स्थापना गरी मंगलबार बिहानदेखि उम्मेदवारी फारम वितरण सुरु गरेको हो । समितिका सदस्य सचिव राजु कटवालका अनुसार बिहान १० बजेदेखि उम्मेदवारलाई मनोनयन फारम उपलब्ध गराइएको छ ।
महाधिवेशन प्रतिनिधिहरूको नामावलीसमेत राष्ट्रिय सभागृहभित्र टाँसिएको छ । उम्मेदवारी दिन चाहने नेताले निर्धारित शुल्क सभागृहभित्रै रहेको प्रभु बैंकको काउन्टरमा बुझाएपछि मनोनयन फारम प्राप्त गर्ने व्यवस्था गरिएको छ ।
निर्वाचन समितिले दिउँसो १२ः३० बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरेको छ ।
यसपटक कांग्रेसले केन्द्रीय कार्यसमितिको संरचनामा उल्लेख्य विस्तार गरेको छ । सोमबार पारित संशोधित विधानअनुसार यसअघि १६७ सदस्यीय रहेको केन्द्रीय कार्यसमिति बढाएर २९७ सदस्यीय बनाइएको छ । त्यस्तै, पदाधिकारी संख्या पनि १४ बाट बढाएर २६ पुर्याइएको छ ।
संशोधित विधानले उपसभापतिको संख्या चार पुर्याएको छ । एक वरिष्ठ उपसभापति र एक महिला उपसभापतिको व्यवस्था थप गरिएको छ । महामन्त्रीको संख्या तीन पुर्याइएको छ भने कम्तीमा एक महिला महामन्त्री अनिवार्य गरिएको छ ।
त्यसैगरी दुई खुला सहमहामन्त्री थपिएसँगै सहमहामन्त्रीको संख्या ११ पुगेको छ । पार्टी संरचनामा प्रवक्ता पदसमेत थप गरिएको छ । आवश्यकताअनुसार सहप्रवक्ता थप गर्न सकिने व्यवस्था पनि गरिएको छ ।
कांग्रेसको १४औँ महाधिवेशनका बेला केन्द्रीय कार्यसमिति १६७ सदस्यीय र पदाधिकारी संख्या १४ थियो । यसपटक महाधिवेशन प्रतिनिधिको संख्या तथा समावेशी प्रतिनिधित्व बढाइएको भन्दै त्यसअनुसार केन्द्रीय कार्यसमितिको आकार र पदाधिकारी संरचना पनि विस्तार गरिएको कांग्रेसले जनाएको छ ।
उम्मेदवारी दर्ता सकिएपछि निर्वाचन समितिले उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गर्नेछ । त्यसपछि दाबी–विरोध, उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशनको प्रक्रिया अघि बढ्नेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।