काठमाण्डौ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ केन्द्रीय कार्यसमिति समावेशीसहित ८० वटा क्लस्टरबाट चयन हुने भएको छ ।
सोमबारको बन्दसत्रबाट पारित संशोधित विधानले सभापतिदेखि पदाधिकारी र केन्द्रीय सदस्यसम्म विभिन्न ८० श्रेणीमा निर्वाचन हुने व्यवस्था गरेको छ । खुला, महिला, दलित, आदिवासी जनजाति, मधेशी, मुस्लिम, खसआर्य, थारु, प्रदेश, प्रवास, युवा तथा अन्य समावेशी समूहबाट नेतृत्व चयन गरिनेछ ।
नयाँ कार्यसमिति चयनका लागि मंगलबार मनोनयन दर्ता भइरहेको छ । मनोनयन दर्तापछिका प्रक्रिया पूरा भएपछि २२ असोज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्ने निर्वाचन कार्यतालिका छ ।
संशोधित विधानअनुसार कांग्रेसको केन्द्रीय कार्यसमिति २९७ सदस्यीय हुनेछ । यसमा एक सभापति, एक वरिष्ठ उपसभापति र चार उपसभापति रहनेछन् । उपसभापतिमध्ये कम्तीमा एक जना महिला अनिवार्य गरिएको छ ।
महामन्त्री तीन जना रहने व्यवस्था छ । तीमध्ये दुई जना खुला र एक जना महिला कोटाबाट निर्वाचित हुनेछन् ।
सहमहामन्त्री १५ जना रहनेछन् । दुई जना खुलाबाट निर्वाचित हुनेछन् भने आदिवासी जनजाति, दलित, मधेशी, खसआर्य, थारु, मुस्लिम, पिछडिएको क्षेत्र र अल्पसंख्यक/अपांगता समूहबाट एक–एक जना चयन हुने व्यवस्था गरिएको छ ।
कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट मनोनीत गरिनेछ । त्यस्तै एक प्रवक्ता र एक सहप्रवक्ताको व्यवस्था गरिएको छ ।
केन्द्रीय सदस्यतर्फ खुला प्रतिस्पर्धाबाट ४५ जना र महिला खुलाबाट १५ जना निर्वाचित हुनेछन् । आदिवासी जनजाति महिलाबाट ८ र खुलाबाट १२ जना, दलित महिलाबाट ५ तथा दलित खुलाबाट ८ जना केन्द्रीय सदस्य चयन हुनेछन् । मधेशी दलिततर्फबाट एक जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।
मधेशी महिला र खसआर्य महिलाबाट ८–८ जना तथा खसआर्य खुलाबाट १० जना केन्द्रीय सदस्य चयन हुने व्यवस्था छ ।
थारु महिलाबाट दुई र थारु खुलाबाट चार जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । मुस्लिम महिलाबाट दुई र मुस्लिम खुलाबाट तीन जना केन्द्रीय सदस्य चयन हुनेछन् ।
पिछडिएको क्षेत्र महिला, पिछडिएको क्षेत्र खुला, अल्पसंख्यक तथा अपांगता समूहबाट एक–एक जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । प्रजातन्त्र सेनानी, शहीद परिवार र द्वन्द्व प्रभावित परिवारबाट समेत एक–एक जना केन्द्रीय सदस्य चयन गर्ने व्यवस्था विधानमा गरिएको छ ।
युवा प्रतिनिधित्व सुनिश्चित गर्न सातै प्रदेशबाट ३५ वर्षमुनिका युवा महिला तथा खुला समूहबाट पनि केन्द्रीय सदस्य चयन हुनेछन् । काठमाडौं उपत्यकाबाट महिला र खुलातर्फ एक–एक जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गरिएको छ ।
प्रवासतर्फ नेपाली जनसम्पर्क समितिका युरोप, ओसियाना–अमेरिका, मध्यपूर्व, एसिया–प्यासिफिक र भारत क्षेत्रका लागि छुट्टाछुट्टै कोटा निर्धारण गरिएको छ । पेशागत तथा विषयगत क्षेत्र र श्रमिकतर्फ समेत प्रतिनिधित्वको व्यवस्था गरिएको छ ।
निर्वाचनबाट चयन हुने सदस्यबाहेक केन्द्रीय कार्यसमितिले थप ६६ जना सदस्य मनोनीत गर्न सक्ने प्रावधान पनि संशोधित विधानमा राखिएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।