बुधबार, कार्तिक ११,२०८३ 04:02:29
  • बुधबार, कार्तिक ११,२०८३ 04:02:29
Global IME Bank Limited

सर्वोच्चमा न्यायाधीश नियुक्तिको तयारी : ‘करिअर जज’लाई प्राथमिकता दिने संकेत

Bizshala
सर्वोच्चमा न्यायाधीश नियुक्तिको तयारी : ‘करिअर जज’लाई प्राथमिकता दिने संकेत
New Office

 

काठमाण्डौ । सर्वोच्च अदालतमा रिक्त न्यायाधीश पदपूर्तिको गृहकार्य अघि बढेसँगै यसपटक नियुक्ति प्रक्रिया कस्तो हुने भन्ने विषयमा न्यायिक वृत्तमा चासो बढेको छ । विगतमा कानुन व्यवसायीबाट सिधै सर्वोच्च अदालतमा गरिएको नियुक्तिलाई लिएर उठेका विवादका बीच न्याय परिषद्ले यसपटक उच्च अदालतमा कार्यरत ‘करिअर जज’लाई प्राथमिकतामा राख्ने तयारी गरेको बताइएको छ ।

रिक्त पदमा नियुक्ति सिफारिसका विषयमा छलफल गर्न मंगलबार न्याय परिषद्को बैठक बस्दैछ ।

विगतमा राजनीतिक पृष्ठभूमि भएका वा दलनिकट मानिएका कानुन व्यवसायीलाई सिधै सर्वोच्च अदालतको न्यायाधीश बनाइँदा कार्यक्षमता, निष्पक्षता र दलीय प्रभावबारे प्रश्न उठेका थिए । यसपटक भने न्यायिक सेवामै लामो अनुभव हासिल गरेका उच्च अदालतका मुख्य न्यायाधीश तथा न्यायाधीशलाई प्राथमिकतामा राख्ने विषयमा परिषद्भित्र छलफल भइरहेको स्रोतको भनाइ छ ।

न्याय परिषद् स्रोतका अनुसार प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पनि यसपटक नियुक्तिमा विगतभन्दा फरक अभ्यास अपनाउने संकेत गरेका छन् । यद्यपि नेपाल बार एसोसिएसनले संविधानले कानुन व्यवसायीबाट समेत सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिको बाटो खुला गरेको भन्दै उनीहरूलाई पूर्ण रूपमा बाहिर राख्न नहुने धारणा राखेको छ ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

संविधानअनुसार सर्वोच्च अदालतमा प्रधानन्यायाधीशबाहेक बढीमा २० जना न्यायाधीश रहने व्यवस्था छ । हाल प्रधानन्यायाधीशसहित १७ जना न्यायाधीशले मात्र न्यायसम्पादन गरिरहेका छन् ।

न्यायाधीश तिलप्रसाद श्रेष्ठ उमेरहदका कारण अवकाश भइसकेका छन् भने न्यायाधीश विनोद शर्मा आगामी कात्तिक १७ गते अवकाशमा जाँदैछन् । यसअघि तत्कालीन प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश कुमार चुडालको अवकाशपछि रिक्त भएका पदसमेत पूर्ति हुन बाँकी छन् ।

अर्कोतर्फ सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको संख्या करिब २९ हजार पुगेको छ । उपलब्ध न्यायाधीशको संख्याका आधारमा एक न्यायाधीशको भागमा औसत १ हजार ८ सयभन्दा बढी मुद्दाको भार पर्ने अवस्था छ । लामो समयसम्म पदपूर्ति नहुँदा मुद्दा फर्छ्योटमा समेत असर परेको बताइएको छ ।

न्याय परिषद्ले वरीयता, कार्यक्षमता र न्यायिक अनुभवलाई मुख्य आधार बनाएको अवस्थामा उच्च अदालतका मुख्य न्यायाधीशहरू डा. रत्नबहादुर बागचन्द, राजनप्रसाद भट्टराई, लालबहादुर कुँवर, हरिप्रसाद भण्डारी र राजेश्वर तिवारी सम्भावित प्रतिस्पर्धामा रहने देखिन्छन् ।

समावेशी प्रतिनिधित्वलाई ध्यानमा राखेर उच्च अदालतबाट महिला न्यायाधीशलाई समेत सर्वोच्च अदालतमा ल्याउने विषयमा छलफल भइरहेको बताइएको छ । त्यसक्रममा उच्च अदालत पाटनका न्यायाधीश चन्द्रबहादुर सारु र उच्च अदालत पोखरा, बागलुङ इजलासकी न्यायाधीश यमुना भट्टराईको नाम पनि चर्चामा आएको छ ।

Garima Development Bank
Bizshala
IME remit

यदि महिला तथा अन्य समावेशी प्रतिनिधित्वलाई प्राथमिकता दिइयो भने दुई जना मुख्य न्यायाधीश र दुई जना उच्च अदालतका न्यायाधीशबाट सर्वोच्चमा सिफारिस हुन सक्ने आकलन गरिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले सर्वोच्च अदालतमा न्यायाधीश नियुक्ति आवश्यक भए पनि हतारमा निर्णय गर्न नहुने बताएका छन् । उनका अनुसार नियुक्तिमा निष्ठा, कार्यक्षमता, न्यायिक अनुभव र स्वार्थको द्वन्द्व नहुने अवस्था मुख्य आधार बन्नुपर्छ ।

उनले उच्च अदालतबाट अनुभवप्राप्त न्यायाधीश र बाहिरबाट सक्षम कानुनविद् ल्याउने सन्तुलित अभ्यास गर्न सकिने धारणा राखेका छन् । सर्वोच्च अदालतलाई न्यायको अन्तिम आशाको केन्द्र भन्दै उनले दबाब वा प्रभावमा नपर्ने न्यायाधीश नियुक्त हुनुपर्ने बताएका छन् ।

अब बस्ने न्याय परिषद्को बैठकले सर्वोच्च अदालतको रिक्त पदपूर्तिमा विगतको अभ्यासलाई निरन्तरता दिन्छ वा वरीयता, अनुभव, कार्यक्षमता र समावेशितालाई आधार बनाएर नयाँ शैली अपनाउँछ भन्ने विषयले न्यायिक क्षेत्रमा विशेष चासो पाएको छ ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.