काठमाण्डौ । लगातार घटेको सेयरबजारमा आज दोहोरो अंकको सुधार देखिएको छ । नेप्से परिसूचक ११.९६ अंकले बढेर २५७८.७३ विन्दुमा कायम भएको छ ।
नेप्सेमा सूचीकृत ३५९ कम्पनीको ८९ लाख ५५ हजार २३० कित्ता सेयर किनबेच हुँदा ३ अर्ब १३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
आज माइक्रो फाइनान्स र निर्जीवन बीमासमूह बाहेक सबै समूहमा हरियाली छाएको छ । सर्वाधिक बढ्नेमा व्यापार समूह रहेको छ । यो समूह आज ०.८२ प्रतिशतले बढेको छ ।
त्यस्तै, बैंकिङ समूह ०.६५ प्रतिशत, विकास बैंक समूह, ०.५५ प्रतिशत, फाइनान्स समूह ०.१५ प्रतिशत, होटल तथा पर्यटन समूह ०.५३ प्रतिशत, हाइड्रो समूह ०..६२ प्रतिशत, लगानी समूह ०.४३ प्रतिशत, जीवन बीमा समूह ०.३५ प्रतिशत, उत्पादन तथा पर्यटन समूह ०.२७ प्रतिशत, म्युचुअल फण्ड समूह ०.२० प्रतिशत र अन्य समूह ०.३९ प्रतिशतले बढेको छ ।
घट्ने समूहहरुमा निर्जीवन बीमा समूह ०.०६ प्रतिशतले घटेको छ भने माइक्रोफाइनान्स समूह ०.१७ अंकले घटेको छ ।
आजको बजारबारे सेयर लगानीकर्ता खोमनाथ प्याकुरेलले धितोपत्र बोर्डको १५ दिने पूर्वसूचना सम्बन्धी व्यवस्थामा बोर्ड सकारात्मक देखिएपछि बजारमा सामान्य सुधार देखिएको बताएका छन् ।
उनका अनुसार पछिल्लो समय पूँजीबजारसँग सम्बन्धित सकारात्मक समाचारहरू आइरहेका छन् र नीतिगत वातावरण पनि क्रमशः अनुकूल बन्दै गएको छ ।
‘धितोपत्र बोर्डको १५ दिने व्यवस्थाबारे बोर्ड सकारात्मक देखिएको छ । त्यसको प्रभाव आजको बजारमा पनि देखियो,’ प्याकुरेलले भने, ‘अर्को सातादेखि बजारले सामान्य सुधार लिन सक्ने अवस्था छ ।’
उनले चाडपर्वका कारण कारोबार र लगानीकर्ताको सक्रियतामा केही सामान्य प्रभाव पर्न सक्ने भए पनि बजार बढ्नका लागि आधारभूत तथा नीतिगत पक्षहरू सकारात्मक रहेको बताए ।
‘चाडपर्वको प्रभावले बजारलाई सामान्य असर गर्न सक्छ, नत्र बजार बढ्नका लागि सबै पक्ष सकारात्मक छन्,’ उनले भने, ‘चाडपर्व सकिएलगत्तै बजारले एउटा स्पष्ट मुभमेन्ट लिन सक्छ।’
आज सर्वाधिक कमाउने शीर्ष १० कम्पनी
आज सर्वाधिक कमाउने कम्पनीमा त्रिशुली जलविद्युत कम्पनी रहेको छ । यो कम्पनीको सेयरभाउ ५.११ प्रतिशत बढेर २८८ रुपैयाँ पुगेको छ ।
त्यस्तै, सालपा विकास बैंकको ३.७७ प्रतिशत, हाथवे इन्भेष्टमेन्टको ३.६५ प्रतिशत, बुटवल पावर कम्पनीको ३.५७ प्रतिशत, लिबर्टी इनर्जीको ३.५० प्रतिशत, सिक्लेस हाइड्रोको ३.३९ प्रतिशत, आरबीबी म्युचुअल फण्ड–२ को ३.१६ प्रतिशत, एमबिएल इक्विटी फण्डको ३ प्रतिशत, सानिमा लार्ज क्याप फण्डको २.९६ प्रतिशत र सिटिजन्स सुपर ३० को २.९५ प्रतिशतले बढेको छ ।
सर्वाधिक गुमाउने शीर्ष १० कम्पनी
आज सर्वाधिक गुमाउने वा सेयरभाउ घट्ने कम्पनीमा भने सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज रहेको छ । यो कम्पनीको ४.९४ प्रतिशत घटेर सेयरभाउ ११३६ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, एनआईबिएल ग्रोथ फण्डको ४.४४ प्रतिशत, चिरख्वा हाइड्रोको ३ प्रतिशत, नबिल डिबेञ्चरको २.९६ प्रतिशत, ग्लोबल आइएमई डिबेञ्चरको २.९१ प्रतिशत, उन्नती सहकार्य लघुवित्तको २.८४ प्रतिशत, एनआईसी एशिया ब्यालेन्स्ड फण्डको २.७८ प्रतिशत बुङ्गल हाइड्रोको २.७० प्रतिशत, कालिञ्चोक दर्शन लिमिटेडको २.६९ प्रतिशत र कुमारी सबल योजनाको २.४० प्रतिशत घटेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।