बिहीबार, आश्विन २२,२०८३ 04:01:39
Bizshala
  • बिहीबार, आश्विन २२,२०८३ 04:01:39
Bizshala
Global IME Bank Limited

बाढीले रसुवागढी जलविद्युत् तहसनहस, १११ मेगावाट उत्पादन ठप्प; १७ अर्ब ७० करोड ऋणमा दबाब

Bizshala
बाढीले रसुवागढी जलविद्युत् तहसनहस, १११ मेगावाट उत्पादन ठप्प; १७ अर्ब ७० करोड ऋणमा दबाब
New Office

काठमाण्डौ । विनाशकारी बाढीले रसुवागढी जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्‍याएपछि १११ मेगावाट क्षमताको विद्युत् उत्पादन पूर्णरुपमा बन्द भएको छ। आयोजनाको भौतिक संरचना, इलेक्ट्रोमेकानिकल उपकरणदेखि प्रसारण लाइनसम्म क्षतिग्रस्त हुँदा आयोजना पुनः सञ्चालनमा आउन कति समय लाग्छ भन्ने यकिनसमेत हुन सकेको छैन। 

रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले नेपाल स्टक एक्सचेञ्ज(नेप्से)लाई उपलब्ध गराएको विवरणअनुसार गत भदौ १० गते अर्थात् अगस्ट २६ मा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवाको गोसाइँकुण्ड गाउँपालिका वडा नं. १ र २ मा रहेको आयोजनामा ठूलो क्षति पुर्‍याएको हो।

कम्पनीका अनुसार बाढी तथा प्राकृतिक विपद्का कारण आयोजनाको पावरहाउस क्षेत्रका सम्पूर्ण बाहिरी संरचना, साइट कार्यालय, कर्मचारी आवास भवन, सवारीसाधन, हेभी इक्विपमेन्ट, निर्माण सामग्री, मेस हल, अस्थायी संरचना तथा अन्य भौतिक सम्पत्तिमा क्षति पुगेको छ।

भूमिगत विद्युत्गृहमा समेत ठूलो मात्रामा मलबा पसेको छ। त्यहाँ रहेका इलेक्ट्रोमेकानिकल उपकरणमा क्षति पुगेको कम्पनीले जनाएको छ। प्रसारण लाइनअन्तर्गतका तीनवटा टावर पूर्णरुपमा क्षतिग्रस्त हुँदा विद्युत् निकासी गर्ने संरचनामा समेत गम्भीर असर परेको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

१११ मेगावाट उत्पादन क्षमता पूर्ण प्रभावित

कम्पनीले बाढीपछि आयोजनाबाट हुने विद्युत् उत्पादन पूर्णरुपमा बन्द भएको जनाएको छ। आयोजनाको सम्पूर्ण १११ मेगावाट उत्पादन क्षमता अहिले प्रभावित अवस्थामा छ।

यसको प्रत्यक्ष असर कम्पनीको विद्युत् बिक्री आम्दानी र नगद प्रवाहमा पर्ने देखिएको छ।

कम्पनीले क्षतिको विस्तृत प्राविधिक मूल्यांकन अझै जारी रहेकाले वित्तीय क्षतिको यकिन रकम तत्काल निर्धारण गर्न नसकिएको जनाएको छ। विस्तृत मूल्यांकन सम्पन्न भएपछि मात्र वास्तविक वित्तीय प्रभाव खुल्ने कम्पनीको भनाइ छ। 

करिब १७ अर्ब ७० करोड बैंक ऋण

आयोजना बन्द भएसँगै कम्पनीको वित्तीय पक्षमा समेत दबाब सिर्जना हुने देखिएको छ। कम्पनीका अनुसार विभिन्न बैंक तथा वित्तीय संस्थाबाट दीर्घकालीन तथा अल्पकालीन गरी करिब १७ अर्ब ७० करोड रुपैयाँ ऋण रहेको छ।

प्राकृतिक विपद्का कारण विद्युत् उत्पादन बन्द हुनु र आयोजना पुनःस्थापनामा समय लाग्ने भएपछि कम्पनीको नगद प्रवाह तथा ऋण सेवा क्षमतामा असर पर्न सक्ने कम्पनी स्वयंले उल्लेख गरेको छ।

यद्यपि ऋण सेवा व्यवस्थापनमा पर्ने वास्तविक प्रभाव विस्तृत वित्तीय मूल्यांकनपछि मात्र यकिन हुने कम्पनीले जनाएको छ।

क्षतिको बीमा दाबी प्रक्रिया सुरु

आयोजनासँग सम्बन्धित क्षतिग्रस्त भौतिक संरचना, मेसिनरी उपकरण, सवारीसाधन तथा कर्मचारीको नियमानुसार बीमा गरिएको र क्षति भएको अवस्थामा लागू हुने बीमा पोलिसीहरु कायम रहेको कम्पनीले जनाएको छ।

कम्पनीले सम्बन्धित बीमा कम्पनीहरुलाई प्राकृतिक विपद्बाट भएको क्षतिबारे ‘क्लेम इन्टिमेसन’ गराइसकेको छ। क्षतिको विस्तृत मूल्यांकनपछि दाबी रकम यकिन गरी पूर्ण बीमा दाबी पेश गर्ने तयारी भइरहेको छ।

बेपत्ताको खोजी जारी

बाढीले आयोजनामा मानवीय क्षतिसमेत पुर्‍याएको छ। आयोजनामा कार्यरत कर्मचारी, दैनिक ज्यालादारी कर्मचारी तथा विभिन्न ठेकेदार कम्पनीमार्फत कार्यरत कामदारमध्ये ठूलो संख्या बाढीपछि बेपत्ता भएको कम्पनीले उल्लेख गरेको छ।

कम्पनीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय प्रशासन तथा अन्य सरोकारवाला निकायसँग समन्वय गरी खोज तथा उद्धार कार्य अघि बढाइएको जनाएको छ। कम्पनीअन्तर्गत करार सेवामा कार्यरत एक कर्मचारीको शव भने पहिचान भएको विवरणमा उल्लेख छ।

आयोजनास्थल पुग्ने सडक र चार पक्की पुलसमेत क्षतिग्रस्त

आयोजना पुनः सञ्चालनको अर्को ठूलो चुनौती पहुँचमार्ग बनेको छ। आयोजनास्थल स्याफ्रुबेँसीबाट करिब १६ किलोमिटर दूरीमा नेपाल–चीन सीमाक्षेत्र नजिक अत्यन्त कठिन भौगोलिक क्षेत्रमा अवस्थित छ।

बाढीले उक्त क्षेत्रमा जाने सडक तथा चारवटा पक्की पुल पूर्णरुपमा क्षतिग्रस्त बनाएको कम्पनीले जनाएको छ। रसुवा जिल्ला नै सडक सञ्जालबाट प्रभावित बनेकाले आयोजनास्थलमा आवश्यक उपकरण र जनशक्ति पुर्‍याउन कठिनाइ भइरहेको छ।

क्षतिग्रस्त १६ किलोमिटर सडक तथा पुलहरुको पुनर्निर्माण नगरी आयोजनास्थल पुग्ने अर्को भरपर्दो विकल्प नरहेको कम्पनीको भनाइ छ।

यसकारण आयोजनाको क्षति मूल्यांकन सकिएपछि मात्रै पुनः सञ्चालनमा आउन लाग्ने समयको यथार्थ अनुमान गर्न सकिने अवस्था रहेको छ।

कम्पनीले अहिले मलबा हटाउने, प्रारम्भिक क्षति मूल्यांकन गर्ने, बीमा दाबी प्रक्रिया अघि बढाउने तथा पुनःस्थापनाको प्राविधिक तयारीलाई प्राथमिकता दिएको जनाएको छ। 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.