सोमबार, आश्विन २६,२०८३ 07:15:42
Bizshala
  • सोमबार, आश्विन २६,२०८३ 07:15:42
Bizshala
Global IME Bank Limited

ग्राउण्ड जिरोः दशैं खर्च जुटाउन सेयर बिक्रीको चाप, चुनावअघि बुल आउने आशामा लगानीकर्ता

Bizshala
ग्राउण्ड जिरोः दशैं खर्च जुटाउन सेयर बिक्रीको चाप, चुनावअघि बुल आउने आशामा लगानीकर्ता
New Office

काठमाण्डौ । दशैं नजिकिँदै जाँदा नेपाली सेयरबजारमा अपेक्षित उत्साह देखिन सकेको छैन । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य उतारचढाव देखिए पनि लगानीकर्ताको मनोबल भने अझै बलियो बन्न सकेको छैन ।

चाडपर्वअघि खर्च व्यवस्थापनका लागि सेयर बिक्री गर्ने प्रवृत्ति बढ्ने भएकाले बजारमा सेलिङ प्रेसर देखिने गरेको छ । यही कारण दशैंअघिको बजारमा खरिदभन्दा बिक्रीको दबाब बढी देखिएको चर्चा ब्रोकर हाउसहरूमा सुनिन थालेको छ ।

बजारको पछिल्लो अवस्था, लगानीकर्ताको मनोबल र आगामी दिनप्रतिको अपेक्षा बुझ्न बिजशालाको नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’ अन्तर्गत सोमबार अनामनगरस्थित तीनवटा ब्रोकर हाउसमा पुगेर स्थलगत रिपोर्टिङ गरेका थियौं ।  

‘दशैंअघि के हुन्छ थाहा छैन, चुनावअघि बजार बढ्छ’

सबैभन्दा पहिले हामी ब्रोकर नम्बर ५७ आर्यतारा इन्भेस्टमेन्ट एण्ड सेक्युरिटिज पुग्यौं । सेयरबजारमा सामान्य गिरावट आएको थियो । त्यहाँ लगानीकर्ताको बाक्लै उपस्थिति थियो । बजारको उतारचढाव, कुन कम्पनीमा फाइदा भयो र कहाँ फसियो भन्ने विषयमा लगानीकर्ताबीच खुला छलफल चलिरहेको थियो ।

अन्दाजी ४५–४६ वर्षका एक लगानीकर्ता भन्दै थिए, ‘इन्ट्रा डे भएको भए दैनिक सेयर फाल्थें । नेपाल फाइनान्स १ हजार ९०० मा लिएँ, २ हजार ७५० मा फालेँ । तर राधी जलविद्युतमा चाहिँ फसियो ।’

त्यहीँ रहेका करिब ५०–५२ वर्षका अर्का लगानीकर्ताले दशैंअघिको बजारप्रति खासै भरोसा देखाएनन् । उनले भने, ‘दशैंअघि बजार बढ्छ कि बढ्दैन थाहा छैन, तर चुनावअघि चाहिँ बजार बढ्न सक्छ ।’

त्यसै क्रममा करिब ४५ वर्षका एक लगानीकर्ताले मार्जिन कारोबारको चर्चा गर्दै भने, ‘मार्जिनको सट्टा नगदमै कारोबार गर्नुपर्ने दिन आउँदैछ ।’

बैंकिङ समूहका सेयरबारे चर्चा गर्दै उनले थपे, ‘हिमालयन बैंक ८००–९०० कट्दैन । सिभिलले डुबायो । २०७२–७५ सालतिर बजार राम्रो थियो, अहिले त खोइ के भयो लगानीको माहोल नै छैन ।’

यहाँको समग्र माहोल हेर्दा लगानीकर्तामा बजारप्रति पूर्ण निराशा भने देखिएन । तर दशैंअघिको बजारमा उल्लेख्य सुधार आउनेमा उनीहरू आश्वस्त देखिएनन् ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

‘बजार घट्नुपर्ने कारण छैन, हल्लाले दबाब दियो’

बजारमा सामान्य अंकको उतारचढाव देखिएको थियो । त्यसपछि हामी ब्रोकर नम्बर ३२ प्रिमियर सेक्युरिटिज कम्पनी पुग्यौं । यहाँ लगानीकर्ताहरू समूह बनाएर बजार, कारोबार रकम र सरकारको भूमिकाबारे छलफल गरिरहेका थिए ।

६५ वर्षभन्दा बढी उमेरका एक लगानीकर्ता अर्का लगानीकर्तासँग गुनासो गर्दै थिए, ‘बजार खत्तम भयो । टिक्नै सकेन ।’

दिउँसो करिब १२ः५० बजेतिर उनले भने, ‘बजार २६ सयबाट २५ सयमा आयो ।’ केही समयपछि भने उनैले बजार २६ सय आसपास सम्हालिन सक्ने आशा व्यक्त गरे । कारोबार रकमप्रति असन्तुष्टि जनाउँदै उनी भन्दै थिए, ‘कारोबार एक अर्ब तल झारेर खायो । शुक्रबारसम्म बजार चल्छ, तर त्यो बेलासम्म के हुन्छ थाहा छैन ।’

यही ब्रोकरमा अर्का लगानीकर्ता केही बैंकको सेयर प्रदर्शनबारे चर्चा गर्दै थिए । उनले एभरेष्ट बैंक र प्रभु बैंकका सेयर हेदैं थिए ।  

दिउँसो करिब १ बजेतिर कारोबार रकम २ अर्ब रुपैयाँ आसपास पुगेपछि उनले भने, ‘बजार घट्नुपर्ने केही कारण छैन । हल्लाले गर्दा यस्तो भयो । बैंकले बजार थामिरहेको छ । बजार घट्न जान्यो, बढ्न जानेन। ’

यहाँको छलफलले एउटा कुरा प्रस्ट देखाउँथ्यो– बजारको आधारभूत अवस्था कमजोरभन्दा पनि मनोबल र हल्लाले बजारलाई बढी प्रभावित गरिरहेको बुझाइ लगानीकर्तामा बलियो छ ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

‘एनआरएन आए बजारमा थप पैसा आउँछ’

अन्त्यमा हामी ब्रोकर नम्बर ३४ भिजन सेक्युरिटिज पुग्यौं । दशैं आइसकेकाले यहाँ बजारसँगै चाडपर्वका खर्च र दैनिक जीवनका प्रसंग पनि छलफलको विषय बनेका थिए ।

करिब ४२ वर्षका एक लगानीकर्ता भन्दै थिए, ‘दशैंका लागि नयाँ नोट साट्नुपर्ने थियो । नबिल बैंकमा गएको, साट्नै पाइएन ।’

त्यहीँ रहेका अर्का लगानीकर्ताले बजारमा एनआरएनको प्रवेशको सम्भावनाबारे चर्चा गर्दै भने, ‘एनआरएनलाई सेयर खुला गरे बजार अझ बढ्छ ।’ उनले थपे, ‘अमेरिका बस्नेहरूले पनि सेयर किनिरहेका छन् ।’

त्यसै क्रममा केही लगानीकर्ता प्रभु बैंक र आरएसएमएल लगायतका कम्पनीका विषयमा चर्चा गरिरहेका थिए ।

एक लगानीकर्ताले भने पुरानो लगानीको उदाहरण दिँदै भने, ‘१५–१६ वर्षसम्म कम्पनी लिस्टिङ भएन । एउटा कम्पनीको संस्थापक सेयर किनेको थिए यदि त्यो नेप्सेमा आइदिएको भएर राम्रै नाफा लिन सकिने रहेछ’ उनले थपे, ‘अझै त्यहिबेलै १० हजार कित्ता राखेको भए अहिले त्यो लगानी बराबरको अनामनगरमा करोडमाथिको घर आउँथ्यो ।’

यत्तिकैमा अर्का लगानीकर्ताले जलविद्युत् कम्पनीतर्फ संकेत गर्दै भने, ‘भोटेकोशीमा बाढी आयो अनि बजार घटायो ।’

दशैंअघि दबाब, चुनावअघि आशा

तीनवटै ब्रोकर हाउसमा भएको छलफल सुन्दा लगानीकर्ताको मनोविज्ञान मिश्रित देखियो ।

एकातिर दशैं खर्चका लागि सेयर बिक्री बढ्ने र त्यसले बजारमा सेलिङ प्रेसर सिर्जना गर्ने चिन्ता छ। अर्कोतर्फ चुनावअघि बजारमा पैसा आउने, गतिविधि बढ्ने र नेप्सेले गति लिने अपेक्षा पनि उत्तिकै सुनियो ।

बजार घट्नुको ठोस कारण नभएको, हल्ला र कमजोर मनोबलले बढी असर पारेको बुझाइ पनि लगानीकर्तामा देखियो ।

समग्रमा दशैंअघि लगानीकर्ता सतर्क देखिएका छन्। ठूलो जोखिम लिनुभन्दा बजारको दिशा पर्खिने मनोवृत्ति बलियो छ। तर चुनाव, एनआरएनको प्रवेश र बैंकिङ समूहको सम्भावित सुधारलाई लिएर उनीहरूमा आशा भने अझै जीवित छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.