काठमाण्डौ । मंगलबार सेयरबजारमा सामान्य सुधार देखिएको छ । नेप्से परिसूचक ४.१२ अंकले बढेर २५९९.९३ विन्दुमा उक्लिएको छ ।
नेप्सेमा सूचीकृत ३५१ कम्पनीको १ करोड ३५ लाख ५३ हजार ९७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
आज ५ वटा समूहमा हरियाली छाएको छ भने बाँकी सबै समूह राताम्य भएका छन् । सर्वाधिक बढ्ने जीवन बीमा समूह रहेको छ । यो समूह १.७७ प्रतिशतले बढेको छ ।
त्यस्तै, बैंकिङ समूह ०.६९ प्रतिशत, विकास बैंक समूह ०.०५ प्रतिशत, लगानी समूह ०.१३ प्रतिशत र निर्जीवन बीमा समूह ०.५३ प्रतिशतले बढेको छ ।
सर्वाधिक घट्नेमा भने होटल तथा पर्यटन समूह रहेको छ । यो समूह आज ०.५८ प्रतिशतले घटेर ६८७०.५७ विन्दुमा कायम भएको छ ।
त्यस्तै, फाइनान्स समूह ०.३१ प्रतिशत, हाइड्रो समूह ०.४४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.४० प्रतिशत, माइक्रोफाइनान्स समूह ०.०९ प्रतिशत, म्युचुअल फण्ड समूह ०.१० प्रतिशत, व्यापार समूह ०.४० प्रतिशत र अन्य समूह ०.५२ प्रतिशतले घटेको छ ।
नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल भन्छन्, ‘बजारमा सामान्य सुधार देखिएको छ । नेपाल धितोपत्र बोर्डले १५ दिने सूचना व्यवस्था संशोधन गरेपछि बजारमा सामान्य सुधार देखिन थालेको छ । बजारले विस्तारै लय लिन लागेको जस्तो देखिन्छ, र म्याचुअर पनि हुँदै गएको छ । अहिले बजारमा निक्षेपकर्ताहरुले बैंकबाट सामान्य ब्याजदर खाइरहेको समयमा बजारमा लगानी गर्ने कि नगर्ने दोधारमा छन्, केही समयको लागि पर्ख र हेरको अवस्थामा जस्तो पनि देखिन्छन् । तर यतिबेला लोन लिएरै भएपनि सेयरबजारमा प्रवेश वा लगानी थप्ने उत्कृष्ट समय हो । लगानीकर्ताहरु लाभांश दिने खालका कम्पनीतिर सिफ्ट भएका छन् । सम्भवतः बजार चाडपर्वपछि बढ्न सक्ने देखिन्छ ।’
सर्वाधिक कमाउने शीर्ष १० कम्पनी
आज सर्वाधिक कमाउने कम्पनीमा सगरमाथा जलविद्युत कम्पनी रहेको छ । यो कम्पनीको मूल्य १२.४४ प्रतिशतले बढेर ४४३ रुपैयाँ पुगेको छ ।
त्यस्तै, नेपाल लाइफ समृद्धि लगानी योजनाको ४.६२ प्रतिशत, एनआइसी एशिया ग्रोथ फण्ड–२ को ४.५७ प्रतिशत, ओरियन्टल होटल लिमिटेडको ३.७४ प्रतिशत, सन नेपाल लाइफको ३.१७ प्रतिशत, भगवती हाइड्रोको ३.१३ प्रतिशत, घलेम्दी हाइड्रोको ३.१२ प्रतिशत, गरिमा समृद्धि योजनाको ३.१० प्रतिशत, एमबीएल इक्विटी फण्डको ३.०८ प्रतिशत र प्रभु महालक्ष्मी लाइफको ३.०४ प्रतिशतले बढेको छ ।
सर्वाधिक गुमाउने शीर्ष १० कम्पनी
आज सर्वाधिक गुमाउने कम्पनीमा स्नो रिभर्स रहेको छ । यो कम्पनीको सेयरभाउ १५ प्रतिशतले घटेर ८९४ रुपैयाँ ४० पैसामा कायम भएको छ ।
त्यस्तै, धौलागिरी लघुवित्तको १२.८७ प्रतिशत, एनआइसी एशिया सेलेक्ट फण्ड–३० को ५.२३ प्रतिशत, कुथेली बुखरी स्मल हाइड्रोको ४.५६ प्रतिशत, सिटि होटलको ३.६५ प्रतिशत, माथिल्लो मैलुङ खोला जलविद्युतको ३.१३ प्रतिशत, मुक्तिनाथ डिबेञ्चरको ३ प्रतिशत, एनएमबि इनर्जी बण्डको २.९९ प्रतिशत, प्रभु बैंक डिबेञ्चरको २.९२ प्रतिशत र एनआइसी एशिया ब्यालेन्स्ड फण्डको २.९१ प्रतिशतले घटेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।