काठमाण्डौ । चाडपर्वको सार्वजनिक बिदामा हुन सक्ने साइबर ठगीलाई ध्यानमा राख्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई शंकास्पद खाता र कारोबार पहिचान गरी तत्काल रोक्का गर्न निर्देशन दिएको छ।
राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले असोज २७ गते सूचना जारी गर्दै दशैं, तिहार तथा छठ पर्वको बिदामा विद्युतीय माध्यमबाट हुने आर्थिक ठगीका घटनाको अनुसन्धानमा आवश्यक सहयोग र समन्वय गर्न भनेको हो। निर्देशन ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थालाई दिइएको छ।
सार्वजनिक बिदाको अवधि लक्षित गरी हुन सक्ने साइबर फ्रड तथा स्क्यामको जोखिमलाई मध्यनजर गर्दै राष्ट्र बैंकले ठगीसँग सम्बन्धित कारोबारको विवरण समयमै उपलब्ध गराउन भनेको छ। साथै, शंकास्पद खाता तथा कारोबार पहिचान गरेर तत्काल रोक्का गरी अनुसन्धान प्रक्रियालाई सहजीकरण गर्न निर्देशन दिएको छ।
यसका लागि प्रत्येक बैंक तथा वित्तीय संस्थाले जिम्मेवार सम्पर्क व्यक्ति अर्थात् ‘फोकल पर्सन’ तोक्नुपर्नेछ। तोकिएको व्यक्तिको नाम, पद र मोबाइल नम्बर नेपाल प्रहरी प्रधान कार्यालयलाई उपलब्ध गराउन राष्ट्र बैंकले भनेको छ।
बैंक तथा वित्तीय संस्थाले चौबीसै घण्टा, सातै दिन अनुगमन हुने ड्युटी वा अनकल इमेल ठेगानासमेत उपलब्ध गराउनुपर्नेछ। उक्त विवरण प्रहरी प्रधान कार्यालयको [email protected] मा पठाउन सूचनामा उल्लेख छ।
राष्ट्र बैंकको निर्देशनले चाडपर्वको बिदामा पनि ठगीसम्बन्धी सूचना आदानप्रदान, शंकास्पद कारोबार रोक्का र प्रहरी अनुसन्धानका लागि बैंक तथा वित्तीय संस्थामा जिम्मेवार सम्पर्क व्यवस्था कायम गर्नुपर्ने स्पष्ट पारेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।