काठमाण्डौ । बिहिबार सेयरबजारमा सामान्य अंकको सुधार देखिएको छ । नेप्से परिसूचक ४.५६ अंकले बढेर २६२५.८२ विन्दुमा कायम भएको छ ।
नेप्सेमा सूचीकृत ३४९ कम्पनीको १ करोड ३६ लाख १० हजार ८९९ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७० करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
आज ९ वटा समूहमा हरियाली छाएको छ भने ४ समूहमा रातो रङ पोतिएको छ ।
सर्वाधिक बढ्ने उपसूचकमा फाइनान्स समूह रहेको छ । यो समूह १.०३ प्रतिशतले वृद्धि भएको छ ।
त्यस्तै, विकास बैंक समूह ०.३५ प्रतिशत, होटल तथा पर्यटन समूह ०.२७ प्रतिशत, हाइड्रो समूह ०.६० प्रतिशत, लगानी समूह ०.७८ प्रतिशत, जीवन बीमा समूह ०.१६ प्रतिशत, माइक्रोफाइनान्स समूह ०.३८ प्रतिशत, म्युचुअल फण्ड समूह ०.२४ प्रतिशत र निर्जीवन बीमा समूह ०.५४ प्रतिशतले बढेको छ ।
सर्वाधिक घट्नेमा भने व्यापार समूह रहेको छ । यो समूह ०.५५ प्रतिशतले घटेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन समूह ०.०६ प्रतिशत, बैंकिङ समूह ०.१६ प्रतिशत र अन्य समूह ०.१९ प्रतिशतले घटेको छ ।
बजार विश्लेषक सुवास भट्टराईका अनुसार पछिल्ला नीतिगत कदमले लगानीकर्ताको मनोबल बलियो बनाएको छ र त्यसकै प्रभावस्वरूप बजार लगातार उकालो लागिरहेको छ।
उनले धितोपत्र बजारसम्बन्धी नीति तथा नियामकीय वातावरण क्रमशः अनुकूल बन्दै गएको बताए। नेपाल धितोपत्र बोर्डले पनि बजारलाई थप सुदृढ बनाउने दिशामा काम गरिरहेकाले लगानीकर्तामा विश्वास बढेको उनको भनाइ छ।
भट्टराईका अनुसार अहिले बजारमा आधारभूत पक्ष बलिया कम्पनीप्रति लगानीकर्ताको आकर्षण बढेको छ। विशेषगरी नियमित लाभांश दिने, वित्तीय अवस्था मजबुत रहेका र दीर्घकालीन रूपमा प्रतिफल दिन सक्ने कम्पनीका सेयरमा माग बढ्न थालेको उनले बताए।
सामान्यतया चाडपर्वको समयमा सेयर बजारमा तरलता र कारोबार दबाबका कारण बजार सुस्त हुने प्रवृत्ति देखिने गरे पनि यसपटक परिस्थिति फरक देखिएको उनको विश्लेषण छ।
“विगतमा चाडपर्वको समयमा बजार प्रायः दबाबमा जाने गर्थ्यो, तर अहिले भने बजार राम्रोसँग बढिरहेको छ,” भट्टराईले भने। उनका अनुसार नीतिगत स्थिरता, नियामकीय सुधार र लाभांशमुखी कम्पनीमा बढ्दो आकर्षणले बजारको पछिल्लो वृद्धिलाई आधार दिएको छ।
सर्वाधिक कमाउने शीर्ष १० कम्पनी
आज सर्वाधिक कमाउने कम्पनीमा बेनी हाइड्रोपावर रहेको छ । यो कम्पनीको सेयर १४.९८ प्रतिशतले बढेर ३१३.९० रुपैयाँ पुगेको छ ।
त्यस्तै, हिमालयन एभरेष्टको ६.३५ प्रतिशत, लक्ष्मी उन्नती कोषको ६.२४ प्रतिशत, मन्जुश्री फाइनान्सको ४.४४ प्रतिशत, रिडि पावर कम्पनीको ३.७५ प्रतिशत, विन्ध्यवासिनी हाइड्रोपावरको ३.५८ प्रतिशत, ग्रीन भेन्चर्सको ३.४५ प्रतिशत, घलेम्दी हाइड्रोको ३.४० प्रतिशत, ग्लोबल आइएमई समुन्नत योजना–२ को ३.३३ प्रतिशत र सानिमा बैंक डिबेञ्चरको ३.२० प्रतिशतले बढेको छ ।
सर्वाधिक गुमाउने शीर्ष १० कम्पनी
आज सर्वाधिक गुमाउनेमा एसबीएल डिबेञ्चर रहेको छ । यो स्टकको मूल्य ३ प्रतिशतले घटेर १४५५ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, लक्ष्मी भ्यालु फण्ड–२ को २.८४ प्रतिशत, माथिल्लो मैलुङ खोला जलविद्युतको २.८३ प्रतिशत, गरिमा समृद्धि योजनाको २.७७ प्रतिशत, कालंगा हाइड्रोको २.७३ प्रतिशत, टक्सार पिखुवा खोला हाइड्रोको २.६१ प्रतिशत, स्नो रिभर्सको २.३८ प्रतिशत, उपकार लघुवित्तको २.३१ प्रतिशत, जनउत्थान सामुदायिक लघुवित्तको २.२६ प्रतिशत र सिन्धु विकास बैंकको २.१५ प्रतिशतले घटेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।