काठमाडौँ । भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीले क्षति पुर्याएका १८ वटा झोलुङ्गे पुल मर्मतपछि पुनः सञ्चालनमा ल्याइएको छ। पुल मर्मतका लागि करिब साढे पाँच करोड रुपैयाँ खर्च भएको छ।
पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका अनुसार क्षतिग्रस्त पुलमध्ये ११ वटामा व्यापक र सात वटामा सामान्य क्षति पुगेको थियो।
कार्यालयका योजना प्रमुख सहसचिव शङ्कर बुढाथोकीका अनुसार व्यापक क्षति भएका पुलमा बटारिएका लट्ठा सोझ्याउने, ह्यान्डरेल केबल फेर्ने, नयाँ स्टिल डेक तथा बिम जडान गर्ने र साइडको जाली राख्नेलगायतका काम गरिएको छ। बाँकी पुलमा सामान्य मर्मत गरी सञ्चालनमा ल्याइएको हो।
मर्मत गरिएका पुल नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्लालाई जोड्ने विभिन्न नदी तथा खोलामा रहेका छन्। पुल सञ्चालनमा आएसँगै बाढीबाट प्रभावित क्षेत्रका स्थानीयको आवतजावत सहज हुने अपेक्षा गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।