काठमाडौँ । अमेरिकाको ओरेगन राज्यस्थित एक प्राथमिक विद्यालयमा बिहीबार भएको गोलीकाण्डमा तीन बालबालिका र एक शिक्षक गरी चार जनाको मृत्यु भएको छ ।
स्थानीय प्रहरीका अनुसार घटनामा संलग्न रहेको आशङ्का गरिएका १६ वर्षीय किशोरको पनि मृत्यु भएको छ । बीबीसीको अमेरिकी साझेदार सीबीएस न्युजका अनुसार गोलीकाण्डमा अन्य दुई जना घाइते भएका छन् । घाइतेमध्ये सात वर्षीय एक बालक र अर्का एक शिक्षक छन् । दुवैलाई अस्पताल भर्ना गरिएको छ र उनीहरूको अवस्था गम्भीर रहेको छ ।
प्रहरीका अनुसार ओरेगनको बेन्डस्थित सिल्भर रेल इलिमेन्ट्री स्कुलमा गोली चलेको सूचना प्राप्त भएको थियो । एक अज्ञात व्यक्तिले सुरुमा एउटा कारमाथि गोली चलाएपछि विद्यालय परिसरमा प्रवेश गरेको बताइएको छ ।
बेन्ड प्रहरी प्रमुख माइक क्रान्ट्जका अनुसार विद्यालयमा प्रवेश गरिरहेको संदिग्ध व्यक्तिलाई एक स्थानीय नागरिकले देखेका थिए । उनले ती व्यक्तिलाई पछ्याउँदै विद्यालय भवनभित्र प्रवेश गरेपछि दुवैबीच मुठभेड भएको थियो । सोही क्रममा संदिग्ध व्यक्तिको मृत्यु भएको प्रहरी प्रमुखले बताएका छन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।