काठमाण्डौ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सकिएको छ। महाधिवेशनबाट विभिन्न पद र क्लस्टरमा गरी २३१ जना निर्वाचित भएका छन्। पार्टीको संशोधित विधानअनुसार २९७ सदस्यीय केन्द्रीय समितिमा बाँकी ६६ जना सदस्य सभापतिले मनोनीत गर्ने व्यवस्था छ।
महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति बनेको हो। सभापतिमा थापाले ६ हजार ५८४ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत पाएका थिए।
संशोधित विधानअनुसार कांग्रेसले यसपटक पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाउँदै समावेशी प्रतिनिधित्वको दायरा विस्तार गरेको छ। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएका छन्। खुला उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य विजयी हुँदा समावेशी उपसभापतिमा विनोद चौधरी निर्वाचित भएका छन्।
महामन्त्रीतर्फ प्रदीप पौडेल र उदयशमशेर राणा खुलाबाट निर्वाचित भएका छन् भने महिला महामन्त्रीमा डा. डिला संग्रौला निर्वाचित भएकी छन्।
पार्टी विधानमा १५ जना सहमहामन्त्री रहने व्यवस्था गरिएको छ। त्यसमध्ये ११ जना निर्वाचनमार्फत चयन भएका छन् भने चार जना सभापतिले मनोनीत गर्नेछन्।
निर्वाचित सहमहामन्त्रीमध्ये खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी छन्। खस–आर्यतर्फ मनोजमणि आचार्य, आदिवासी जनजातितर्फ बहादुरसिंह लामा, दलिततर्फ प्रकाश रसाइली स्नेही, महिलातर्फ प्रतिमा गौतम, पिछडिएको क्षेत्रबाट जीवनबहादुर शाही, मुस्लिमतर्फ डा. फिरदोस आलम, मधेसीतर्फ अजयकुमार चौरसिया, थारूतर्फ योगेन्द्र चौधरी तथा अल्पसंख्यक तथा अपांगता समूहबाट आङ्गेलु शेर्पा निर्वाचित भएका छन्। मनोजमणि आचार्यले खस–आर्यतर्फ २ हजार ६४८ मत ल्याएका थिए।
पदाधिकारीमध्ये उपसभापति चन्द्र भण्डारीले ३ हजार ७३५ मत प्राप्त गरेका छन् भने महिला सहमहामन्त्री प्रतिमा गौतमले ५ हजार ११६ मत ल्याएकी छन्।
केन्द्रीय सदस्यतर्फ खुलाबाट ४५ जना निर्वाचित भएका छन्। संशोधित विधानले ३५ वर्षमुनिका २१ जनालाई केन्द्रीय समितिमा निर्वाचित हुने व्यवस्था गरेको छ। त्यस्तै पेसागत तथा विषयगत क्षेत्रबाट सात, जनसम्पर्क समितिबाट सात, पिछडिएको क्षेत्रबाट दुई तथा विभिन्न समावेशी समूहबाट पनि प्रतिनिधि निर्वाचित भएका छन्।
१५औँ महाधिवेशन असोज १८ गतेदेखि काठमाडौंमा सुरु भएको थियो। नयाँ नेतृत्व चयनका लागि भएको मतदानपछि असोज २३ गते रातिबाट मतगणना सुरु गरिएको थियो। मतगणना करिब एक सातामा सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ।
यससँगै कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वको संरचना लगभग पूरा भएको छ। अब विधानअनुसार बाँकी ६६ सदस्य मनोनीत भएपछि २९७ सदस्यीय केन्द्रीय समितिले पूर्णता पाउनेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।