काठमाण्डौ । दसैंका कारण पछि सारिएको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम कात्तिक १७ र १८ गते सञ्चालन हुने भएको छ। सरकारले दुईदिने अभियानमा देशभरका करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ र करिब २० लाखलाई जुकाको औषधि खुवाउने तयारी गरेको छ।
नियमित रूपमा कात्तिक २ र ३ गते सञ्चालन हुँदै आएको पहिलो चरणको कार्यक्रम यस वर्ष दसैं परेकाले पछि सारिएको हो।
स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख लिलाविक्रम थापाका अनुसार भिटामिन ‘ए’ क्याप्सुल ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई खुवाइनेछ। जुकाको औषधि भने एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाउने कार्यक्रम छ।
अभियानका लागि आवश्यक भिटामिन ‘ए’ क्याप्सुल सबै प्रदेशका स्वास्थ्य आपूर्ति केन्द्रमा पठाइसकिएको थापाले जानकारी दिए।
देशभर कार्यक्रम सञ्चालन गर्न ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी परिचालन गरिनेछ।
बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सरकारले २०५० सालदेखि नियमित रूपमा भिटामिन ‘ए’ खुवाउँदै आएको छ। जुकाको औषधि खुवाउने कार्यक्रम भने २०५६ सालदेखि सञ्चालनमा छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।