काठमाण्डौ । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका चार जनाविरुद्ध संघीय संसद्को संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गरेको छ।
समितिले सोमबार सार्वजनिक सूचना जारी गर्दै प्रस्तावित व्यक्तिहरूलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गर्न उपयुक्त नहुने कुनै आधार भए सूचना प्रकाशित भएको मितिले १० दिनभित्र स्पष्ट कारण र प्रमाणसहित उजुरी दिन आग्रह गरेको हो।
असोज २० गते बसेको न्याय परिषद्को बैठकले डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा सिफारिस गरेको थियो।
त्यसपछि असोज २६ गते बसेको संसदीय सुनुवाइ समितिको बैठकले कात्तिक ९ गतेदेखि लागू हुने गरी १० दिनको समय दिएर उजुरी माग्ने निर्णय गरेको थियो।
समितिका अनुसार उजुरी कार्यालय समयमा संसदीय सुनुवाइ समितिको सचिवालय सिंहदरबारमा सिधै दर्ता गर्न सकिनेछ। देशका कुनै पनि जिल्ला प्रशासन कार्यालयमार्फत पनि उजुरी पठाउन सकिने व्यवस्था गरिएको छ।
उजुरीमा स्पष्ट आधार तथा सबुत प्रमाण समावेश गर्नुपर्नेछ। भाषा शिष्ट र मर्यादित हुनुपर्ने तथा उजुरीकर्ताले आफ्नो नाम, थर, ठेगाना र फोन नम्बर खुलाउनुपर्ने समितिले जनाएको छ। उजुरीकर्ताले चाहेमा भने उसको पहिचान गोप्य राखिनेछ।
प्राप्त उजुरीमाथि अध्ययन तथा छानबिन गरेपछि समितिले प्रस्तावित न्यायाधीशहरूको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउनेछ।
संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिबाट सर्वोच्च अदालतको न्यायाधीश नियुक्त हुने संवैधानिक व्यवस्था छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।