काठमाण्डौ । नेपाली बजारमा सुनको मूल्य तीव्र रूपमा घटिरहँदा अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ भने उकालो लागेको छ। सामान्य अवस्थामा भू–राजनीतिक तनाव बढ्दा सुन र तेल दुवै महँगिन सक्ने भए पनि अहिले बजारमा फरक तस्वीर देखिएको छ।
नेपालमा सुनको मूल्य एकैदिन प्रतितोला ११ हजार ७०० रुपैयाँले घटेर २ लाख ७८ हजार ५०० रुपैयाँमा झरेको छ। एक महिनाअघि प्रतितोला ३ लाख २२ हजार रुपैयाँसम्म पुगेको सुन अहिले करिब ४४ हजार रुपैयाँ सस्तिएको छ।
अन्तर्राष्ट्रिय बजारमा पनि सुन दबाबमा छ। सुन प्रतिऔँस ४ हजार डलर आसपास संघर्ष गरिरहेको छ। बजार विश्लेषकहरूले सरकारी ऋणपत्रको प्रतिफल बढ्नु, अमेरिकी ब्याजदर लामो समय उच्च रहन सक्ने अपेक्षा र लगानीकर्ताले नगद जुटाउन सुन बिक्री गर्नु पछिल्लो गिरावटका मुख्य कारण भएको बताएका छन्।
तेल किन बढ्दै छ ?
तेलको मूल्य भने मध्यपूर्वमा जारी तनाव र आपूर्तिमा अवरोध आउन सक्ने जोखिमका कारण बढिरहेको छ। भू–राजनीतिक तनावले कच्चा तेलको आपूर्ति प्रभावित हुन सक्ने आशंका बढ्दा बजारमा तेलको मूल्य चढ्ने गर्छ।
तर तेल महँगिनु सुनका लागि भने उल्टो दबाब बन्न सक्छ।
ऊर्जा मूल्य बढ्दा मुद्रास्फीति चर्किने सम्भावना बढ्छ। मुद्रास्फीति नियन्त्रण गर्न अमेरिकी केन्द्रीय बैंकले ब्याजदर लामो समय उच्च राख्न सक्छ भन्ने अपेक्षा बलियो हुँदा अमेरिकी सरकारी ऋणपत्रको प्रतिफल आकर्षक बन्न पुग्छ।
सुनले कुनै ब्याज आम्दानी दिँदैन। त्यसैले उच्च ब्याजदरको वातावरणमा लगानीकर्ता ब्याज दिने सम्पत्तितर्फ आकर्षित हुँदा सुनको माग घट्न सक्छ।
चार हजार डलरको आसपास संघर्ष
अन्तर्राष्ट्रिय बजारमा सुन गत साता प्रतिऔँस ४ हजार १६४ डलरबाट कारोबार सुरु भएर ४ हजार १९० डलरसम्म पुगेको थियो। त्यसपछि भने निरन्तर दबाबमा पर्यो।
एक समय सुन प्रतिऔँस ३ हजार ९७५ डलरसम्म झरेको थियो। त्यसपछि केही सुधार देखिए पनि चार हजार डलर आसपासको तह बजारका लागि महत्वपूर्ण मनोवैज्ञानिक क्षेत्र बनेको छ।
व्यावसायिक विश्लेषकबीच पनि सुनको आगामी दिशा स्पष्ट छैन। केहीले थप गिरावट आउन सक्ने बताएका छन् भने केहीले हालको गिरावट आवश्यकताभन्दा बढी भएको भन्दै पुनः सुधार हुन सक्ने अपेक्षा गरेका छन्।
सेयर बजारको गिरावटले पनि सुनमा दबाब
पछिल्लो समय प्रविधि कम्पनीलगायतका सेयरमा आएको गिरावटले पनि सुनमा बिक्री चाप बढाएको विश्लेषण छ। अन्य लगानीमा घाटा बेहोरेका केही लगानीकर्ताले नगद जुटाउन सजिलै बिक्री गर्न सकिने सुनसमेत बेच्दा यसको मूल्य थप दबाबमा परेको हो।
यस्तो अवस्थामा सुनले परम्परागत रूपमा पाउने ‘सुरक्षित लगानी’को माग पनि कमजोर हुन सक्छ।
नेपालमा अझै घट्न सक्छ ?
नेपालमा सुनको मूल्य अन्तर्राष्ट्रिय बजारको मूल्यसँगै अमेरिकी डलरको विनिमय दर र स्थानीय बजारको अवस्थाबाट प्रभावित हुन्छ। त्यसैले अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दैमा नेपालमा सोही अनुपातमा मूल्य घट्छ भन्ने हुँदैन।
अहिलेको गिरावटपछि सुन सबैभन्दा सस्तो तहमा आइपुगेको निष्कर्ष निकाल्न हतार हुने देखिन्छ। अमेरिकी ब्याजदर, मुद्रास्फीति, डलरको चाल, तेलको मूल्य तथा भू–राजनीतिक घटनाक्रमले आगामी दिनको दिशा निर्धारण गर्नेछन्।
तेल महँगिँदै जाँदा मुद्रास्फीति बढ्ने र ब्याजदर उच्च रहने अवस्था बने सुनमा थप दबाब आउन सक्छ। तर मुद्रास्फीति घट्ने संकेत देखिए वा केन्द्रीय बैंकहरू नरम भए सुन पुनः उकालो लाग्न सक्छ।
त्यसैले अहिले बजारको मुख्य प्रश्न सुन अझै कति घट्छ भन्ने मात्र होइन, तेलको महँगीले विश्व ब्याजदर र मुद्रास्फीतिको दिशालाई कता लैजान्छ भन्ने हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।