काठमाण्डौ । कृषि फार्म सञ्चालनका लागि सरकारी सहुलियत अनुदान मिलाइदिने भन्दै ५ करोड ८० लाख रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौं महानगरपालिका–१४ ताहाचलका ५२ वर्षीय श्रीकृष्ण महर्जन र ललितपुर महानगरपालिका–१४ नखिपोटका ६० वर्षीय नारायण खनाललाई पक्राउ गरेको हो।
सीआईबीका अनुसार जालिम सिंह महतोको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार पक्राउ परेका व्यक्तिहरूले विभिन्न मन्त्रालयका कर्मचारीसँग राम्रो सम्बन्ध र पहुँच रहेको दाबी गर्दै कृषि फार्मका लागि सरकारी अनुदान मिलाइदिने आश्वासन दिएका थिए।
त्यही विश्वास दिलाएर उनीहरूले ठूलो रकम लिएको आरोप लागेको छ।
सीआईबीका प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रहरीले रकम कसरी लिइयो, त्यसमा अन्य व्यक्तिको संलग्नता छ कि छैन र ठगीमा प्रयोग भएको आर्थिक कारोबारको विस्तृत विवरणबारे पनि अनुसन्धान अघि बढाएको जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।