काठमाण्डौ । सप्तकोशी डेभलपमेन्ट बैंक चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नाफामा फर्किएको छ।
बैंकले सार्वजनिक गरेको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार तीन महिनामा ४३ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको सोही अवधिमा बैंक १२ लाख १५ हजार रुपैयाँ घाटामा थियो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी भने सामान्य घटेको छ। गत वर्ष पहिलो त्रैमासमा करिब ६ करोड ५० लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी यस वर्ष ५ करोड ३१ लाख रुपैयाँमा सीमित भएको छ।
बैंकको खराब कर्जा अनुपातमा भने सुधार देखिएको छ। गत वर्षको पहिलो त्रैमासमा ५.५० प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात (NPL) घटेर ३.६० प्रतिशतमा झरेको छ।
असोज मसान्तसम्म बैंकले ८ अर्ब ८६ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गरी ग्राहकतर्फ ५ अर्ब ६७ करोड ३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यमा बैंकको निक्षेप ६ अर्ब ७६ करोड ७३ लाख रुपैयाँ र ग्राहक कर्जा ५ अर्ब ५३ करोड ७९ लाख रुपैयाँ थियो।
बैंकको चुक्तापुँजी ८३ करोड ४३ लाख रुपैयाँ रहेको छ। जगेडा कोषमा करिब ४० करोड ७६ लाख रुपैयाँ सञ्चित छ भने रिटेन्ड अर्निङ ५१ करोड ५३ लाख रुपैयाँ ऋणात्मक रहेको छ।
असोज मसान्तसम्म बैंकको कुल सम्पत्ति १० अर्ब ८ करोड रुपैयाँ हाराहारीमा रहेको छ।
बैंकको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी २.०९ रुपैयाँ रहेको छ। गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ऋणात्मक थियो।
यस्तै बैंकको पुँजीकोष अनुपात ११.७९ प्रतिशत, टियर–१ पुँजी अनुपात ९.२४ प्रतिशत, सीडी रेसियो करिब ६८ प्रतिशत, आधारदर ६.०४ प्रतिशत र ब्याजदर अन्तर ४.१७ प्रतिशत रहेको वित्तीय विवरणमा उल्लेख छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।