काठमाण्डौ । तिहारमा खुला मिठाई किन्दै हुनुहुन्छ भने पसलको सोकेस वा काउन्टरमा राखिएको लेबल हेर्नुहोस्। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मिठाईमा प्रयोग भएको तेल वा घिउ, उपभोग गरिसक्नुपर्ने मिति र प्रतिकिलो मूल्यसहितको विवरण देखिने गरी राखेका पसलबाट मात्रै खुला मिठाई किन्न उपभोक्तालाई आग्रह गरेको छ।
विभागले कात्तिक २२ गते जारी गरेको सूचनाअनुसार व्यवसायीले तयारी मिठाई राखेको सोकेस वा काउन्टरमा मिठाईको नाम, मुख्य सामग्री, प्रयोग गरिएको तेल वा घिउको प्रकार, उपभोग गरिसक्नुपर्ने मिति र प्रतिकिलो मूल्य सबै ग्राहकले देख्ने गरी राख्नुपर्छ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम विभागले कात्तिक ११ गतेदेखि यस्तो विवरण राख्न निर्देशन दिएको थियो। विभागका अनुसार कात्तिक २० गतेसम्म ३६७ मिठाई व्यवसायीले लेबल राखेर निर्देशन पालना गरेका छन्। ती व्यवसायीको सूची विभागको वेबसाइटमा सार्वजनिक गरिएको छ। थप विवरण प्राप्त भएपछि अद्यावधिक सूची प्रकाशन गर्ने विभागले जनाएको छ।
खुला मिठाई बेच्ने पसलमा तोकिएको विवरण नराखिएको पाइए विभाग, जिल्लास्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय वा स्थानीय प्रशासनलाई जानकारी दिन पनि विभागले आग्रह गरेको छ।



प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।