काठमाडौं। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा वीरगञ्ज नाका हुँदै हुने खाद्यान्न आयात करिब ६३ प्रतिशतले घटेको छ ।
वीरगञ्ज भन्सार कार्यालयका अनुसार साउनदेखि असोजसम्म तीन करोड १६ लाख ४० हजार किलो खाद्यान्न आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा आठ करोड ७० लाख ४७ हजार किलो आयात भएको थियो ।
चालु आवमा चामल आयात ६७ लाख ७३ हजार ६२९ किलोमा सीमित भएको छ । गत वर्ष यस अवधिमा ९४ लाख एक हजार किलो चामल आयात भएको थियो । यसको आयात मूल्य पनि ८९ करोड ८१ लाखबाट घटेर ७० करोड रुपैयाँमा झरेको छ ।
त्यस्तै, धान आयात तीन करोड ९१ लाख किलोबाट घटेर ६९ लाख ३५ हजार ४६० किलोमा झरेको छ । यसको मूल्य एक अर्ब ४६ करोड २८ लाखबाट घटेर ३३ करोड ३५ लाख रुपैयाँ कायम भएको छ ।
मकै आयातमा पनि ठूलो गिरावट आएको छ । गत वर्षको पहिलो त्रैमासमा तीन करोड ३६ लाख १२ हजार ८१० किलो मकै आयात भएकामा चालु आवमा ६७ लाख ३६ हजार ४३७ किलो मात्रै भित्रिएको छ । यसको मूल्य एक अर्ब ८० करोड १३ लाखबाट घटेर ६० करोड ९८ लाख रुपैयाँमा सीमित भएको छ ।
यसैगरी, फापर, कोदो तथा अन्य खाद्यान्नको आयात पनि २३ लाख ४१ हजार ६५५ किलोबाट घटेर १६ लाख ४० हजार ५५५ किलोमा झरेको भन्सार कार्यालयले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।