काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालका सम्भावनायुक्त क्षेत्रमा लगानी गर्न संयुक्त अरब इमिरेट्स (यूएई)का लगानीकर्तालाई आग्रह गरेका छन्। उनले जलविद्युत्, पर्यटन, कृषि, सूचना प्रविधि र डाटा सेन्टरमा लगानीको अवसर रहेको बताएका हुन्।
यूएईको रास अल खैमाहमा आयोजित ‘आरएके इन्भेस्टमेन्ट समिट २०२६’मा सहभागी हुन पुगेका ढकालले बिहीबार दुबईमा त्यहाँका विदेश व्यापारमन्त्री डा. थानी बिन अहमद अल जेउदीसँग भेटवार्ता गरेका थिए। भेटमा नेपाल–यूएई सम्बन्ध, व्यापार विस्तार र नेपालमा उपलब्ध लगानीका अवसरबारे छलफल भएको थियो।
ढकालले नेपालको स्वच्छ जलविद्युत् र चिसो हावापानीलाई सूचना प्रविधि तथा डाटा सेन्टर स्थापनाका लागि महत्त्वपूर्ण आधारका रूपमा प्रस्तुत गरे। यी विशेषताका कारण नेपाल प्रविधिमा आधारित व्यवसायका लागि आकर्षक लगानी गन्तव्य बन्न सक्ने उनको भनाइ थियो।
पर्यटनतर्फ केबलकार र स्की रिसोर्टजस्ता पूर्वाधारमा पनि लगानीको ठूलो सम्भावना रहेको उनले बताए। यस्ता क्षेत्रमा यूएईका लगानीकर्ताको सहभागिता बढाउन उनले आग्रह गरे।
लगानीकर्ताको विश्वासका लागि कानुनी आधार बलियो बनाउन जोड
ढकालले विदेशी लगानीकर्तालाई आकर्षित गर्न नीतिगत तथा नियमनकारी स्पष्टता आवश्यक रहेको बताए। लगानीकर्ताको विश्वास बढाउन द्विपक्षीय लगानी सम्झौता (बीआईए) तथा दोहोरो करमुक्ति सम्झौताजस्ता कानुनी आधारलाई थप सुदृढ बनाउनुपर्नेमा उनले जोड दिए।
दुई देशबीच आर्थिक सम्बन्ध विस्तार गर्न सरकारी तथा निजी क्षेत्रका उच्चस्तरीय भ्रमण आदानप्रदानलाई निरन्तरता दिनुपर्ने धारणा पनि उनले राखे।
भैरहवामा सीधा उडानका लागि पहलको अनुरोध
भेटमा ढकालले हवाई सम्पर्क विस्तारको विषयसमेत उठाएका थिए। फ्लाई दुबईले यूएईबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्म सीधा उडान सुरु गरेकोमा प्रशंसा गर्दै उनले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि सीधा उडान सञ्चालनका लागि पहल गरिदिन मन्त्री अल जेउदीलाई अनुरोध गरे।
भैरहवामा सीधा उडान सञ्चालन भए यूएईलाई गौतमबुद्धको जन्मस्थल लुम्बिनीसँग जोड्ने महत्त्वपूर्ण प्रवेशद्वार बन्न सक्ने उनको भनाइ थियो।
नेपाल र यूएईबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष आगामी सन् २०२७ मा पूरा हुँदैछ। भेटमा दुवै पक्षले यस अवसरप्रति खुसी व्यक्त गरेका थिए।
स्वर्णजयन्तीका अवसरमा विशेष समारोह आयोजना गर्ने मन्त्री अल जेउदीको सोचलाई ढकालले स्वागत गरे। उनले आगामी वर्षलाई दुई देशबीचको आर्थिक साझेदारी थप बलियो बनाउने अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिँदै व्यापार, लगानी र साझा समृद्धिमा नयाँ अध्याय सुरु हुने विश्वास व्यक्त गरे।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।