काठमाडौं । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले आगामी महिना अपेक्षाभन्दा बढी ब्याजदर वृद्धि गर्न सक्ने सम्भावना बढेपछि अमेरिकी डलर १९ महिनायताकै उच्च विन्दुमा पुगेको छ। डलर बलियो बनेसँगै जापानी मुद्रा येन प्रतिडलर १६० को सीमामा पुगेको छ। यसले जापान सरकारले मुद्रा बजारमा हस्तक्षेप गर्न सक्ने आशङ्का बढाएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता आवश्यक नरहेको बताएपछि र फेडले ब्याजदर ५० आधार विन्दुले बढाउन सक्ने सम्भावनाका कारण अमेरिकी ट्रेजरी बन्डको प्रतिफल बढेको हो। पछिल्ला दुई कारोबार दिनमा दुई वर्षे ट्रेजरी बन्डको प्रतिफल ३४ आधार विन्दुले बढेको छ, जुन साढे तीन वर्षयताकै ठूलो वृद्धि हो।
फेडका केही अधिकारीले मुद्रास्फीति नियन्त्रणमा नआए ब्याजदर ५० आधार विन्दुले बढाउन सकिने सङ्केत दिएका छन्। सीएमई फेडवाचका अनुसार आगामी महिना यस्तो वृद्धि हुने सम्भावना १४.५ प्रतिशत पुगेको छ, जबकि गत साता यो शून्य थियो।
शुक्रबार युरो ०.१ प्रतिशतले घटेर १.१०४९ डलरमा कारोबार भएको छ। यो सन् २०२५ अप्रिलयताकै न्यून स्तरनजिक हो। यस साता युरो ०.८ प्रतिशतले कमजोर भएको छ। यस्तै, डलर सूचकाङ्क ०.०५ प्रतिशतले घटेर १०३.१७ मा झरे पनि सन् २०२५ अप्रिलयताकै उच्च स्तरनजिक कायम छ।
जापानी येन प्रतिडलर १५९.८७५ मा कारोबार भएको छ। बिहीबार येन १६० को सीमामा पुगेपछि जापानकी अर्थमन्त्री सात्सुकी कातायामाले मुद्रा बजारको उतारचढावलाई सरकारले उपयुक्त रूपमा सम्बोधन गर्ने बताएकी छन्।
अस्ट्रेलियन डलर पछिल्लो एक महिनामा २.५ प्रतिशतले कमजोर हुँदै प्रमुख १० मुद्रामध्ये सबैभन्दा कमजोर बनेको छ। स्विस फ्र्याङ्कसँग भने डलरको विनिमय दर ०.८३५ मा स्थिर छ।
यसैबीच, यमनका इरानसमर्थित हुथी विद्रोहीले साउदी अरबको ऊर्जा पूर्वाधारमा आक्रमण तीव्र पारेपछि र होर्मुज जलडमरुमा जलयातायात अवरोध कायमै रहेपछि अमेरिकी कच्चा तेलको मूल्य बिहीबार २.५५ प्रतिशतले बढेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।