काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप सुवेदीले पुँजीबजार सुदृढीकरण तथा पुनरुत्थानका लागि अर्थ मन्त्रालयले अघि सारेको २१ बुँदे कार्ययोजना कार्यान्वयनमा आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
स्टक ब्रोकर एसोसिएसन अफ नेपालको प्रतिनिधिमण्डलले नेप्से कार्यालयमा पुगेर सीईओ सुवेदीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिने क्रममा उनले यस्तो प्रतिबद्धता जनाएका हुन्।
भेटका क्रममा एसोसिएसनका अध्यक्ष सागर ढकालले अर्थ मन्त्रालयले अघि सारेको पुँजीबजार सुदृढीकरण तथा पुनरुत्थानसम्बन्धी २१ बुँदे कार्ययोजनाको प्रभावकारी कार्यान्वयनमा जोड दिए। उनले उक्त कार्ययोजना समयमै कार्यान्वयन गर्न सके पुँजीबजारका विद्यमान समस्या समाधान हुनुका साथै लगानीकर्ताको विश्वास बढाउन र बजारलाई थप पारदर्शी तथा व्यवस्थित बनाउन सहयोग पुग्ने बताए।
ढकालले पुँजीबजारको दिगो विकासका लागि नियामक निकाय, नेप्से, ब्रोकर कम्पनी तथा अन्य सरोकारवाला संस्थाबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गरे।
जवाफमा नेप्सेका सीईओ सुवेदीले पुँजीबजारको विकास र सुधारका लागि सम्बन्धित सबै सरोकारवालासँग सहकार्य गर्न नेप्से तयार रहेको बताए। उनले अर्थ मन्त्रालयको २१ बुँदे पुँजीबजार सुधार तथा पुनरुत्थान कार्ययोजना कार्यान्वयनका लागि आवश्यक पहल गर्दै काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।
भेटमा सहभागी दुवै पक्षले पुँजीबजारको विकासका लागि नीतिगत सुधारसँगै संस्थागत समन्वय, प्रभावकारी कार्यान्वयन र सरोकारवालाबीचको सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गरेका थिए।
एसोसिएसनले नेपालको पुँजीबजारलाई थप पारदर्शी, व्यवस्थित तथा लगानीकर्तामैत्री बनाउन नेप्सेसँग रचनात्मक सहकार्य गर्ने प्रतिबद्धतासमेत जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।