बिहीबार, मंसिर ३,२०८३ 01:19:21
  • बिहीबार, मंसिर ३,२०८३ 01:19:21
Global IME Bank Limited

४४ हजार ४४४ नेपालीलाई निःशुल्क एआई तालिम दिइने

Bizshala
४४ हजार ४४४ नेपालीलाई निःशुल्क एआई तालिम दिइने
New Office

काठमाण्डौ । डिजिटल सोलुसन प्रा.लि.ले ४४ हजार ४४४ नेपालीलाई निःशुल्क आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तालिम दिने घोषणा गरेको छ। चौथो वार्षिकोत्सवको अवसरमा अघि सारिएको ‘सबैका लागि एआई’ अभियानअन्तर्गत तालिम लिन इच्छुकले मंसिर २० गतेसम्म अनलाइन दर्ता गर्न सक्नेछन्।

विद्यार्थी, शिक्षक, कर्मचारी, व्यवसायी, उद्यमी तथा सर्वसाधारणलाई लक्षित गरी सञ्चालन गरिने तालिममा सहभागी हुन प्रोग्रामिङ वा अन्य प्राविधिक ज्ञान आवश्यक नपर्ने कम्पनीले जनाएको छ। पढाइ, काम, व्यवसाय र दैनिक जीवनमा एआईको व्यावहारिक प्रयोग सिकाउनु कार्यक्रमको उद्देश्य रहेको छ।

चारदिने पाठ्यक्रममा ChatGPT, Google Gemini र Claude लगायतका एआई टुल प्रयोग गर्ने तरिका सिकाइनेछ। सहभागीले एआईलाई प्रभावकारी निर्देशन अर्थात् ‘प्रम्प्ट’ दिने, अध्ययन तथा अनुसन्धान गर्ने र कागजात तथा प्रस्तुतीकरण तयार गर्ने सीप सिक्न पाउनेछन्।

यस्तै, फोटो, ग्राफिक्स, भिडियो तथा अन्य डिजिटल सामग्री तयार गर्न एआईको प्रयोग गर्ने विषय पनि पाठ्यक्रममा समेटिएको छ। एआई एजेन्टको परिचयसँगै सामान्य एजेन्ट बनाउने र दैनिक काम सहज बनाउन त्यसलाई प्रयोग गर्ने तरिकासमेत सिकाइने कम्पनीले जनाएको छ।

CG Motors
Garima Development Bank
IME remit

सहभागीले आफ्नो समय र सुविधाअनुसार प्रत्यक्ष अनलाइन वा रेकर्ड गरिएका कक्षामध्ये विकल्प रोज्न सक्नेछन्। दर्ताकै क्रममा आफूले चाहेको माध्यम छनोट गर्नुपर्नेछ। प्रत्यक्ष कक्षामा सहभागी हुन नसक्नेले कक्षाको रेकर्ड हेरेर पनि सिक्न पाउने व्यवस्था गरिनेछ।

सबैका लागि आधारभूत पाठ्यक्रम एउटै हुने भए पनि पेशागत आवश्यकताअनुसार थप भिडियो सामग्री उपलब्ध गराइनेछ। यसका लागि दर्ता गर्दा पेशा खुलाउनुपर्नेछ। विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायीले आफ्नो क्षेत्रसँग सम्बन्धित थप सामग्रीबाट सिक्न सक्नेछन्।

तालिमका अतिरिक्त एआई, प्रविधि तथा विभिन्न उद्योगमा कार्यरत विज्ञसँग अन्तरक्रियाका कार्यक्रम पनि आयोजना गरिने कम्पनीले जनाएको छ। ती कार्यक्रममा विभिन्न पेशामा एआईको प्रयोग, यसको प्रभाव र सम्भावित अवसरबारे छलफल हुनेछ।

प्रमाणपत्र प्राप्त गर्न सहभागीले तालिम सुरु भएको मितिबाट ९० दिनभित्र तोकिएको पाठ्यक्रम, अभ्यास कार्य र मूल्यांकन पूरा गर्नुपर्नेछ। मूल्यांकनमा कम्तीमा ४० प्रतिशत अंक प्राप्त गर्नुका साथै कम्पनीले तोकेका अन्य मापदण्डसमेत पूरा गर्नुपर्ने व्यवस्था छ। अभियानमार्फत ४४ हजार ४४४ जनालाई सफलतापूर्वक तालिम पूरा गराएर प्रमाणपत्र प्रदान गर्ने लक्ष्य राखिएको छ।

तालिमका लागि २०८३ मंसिर १ गतेदेखि दर्ता खुला गरिएको हो। दर्ता गर्दा नाम, इमेल ठेगाना, मोबाइल नम्बर, पेशा र कक्षाको माध्यम उल्लेख गर्नुपर्नेछ। दर्तापछि प्राप्त हुने रजिस्ट्रेसन आईडी तथा दर्तामा प्रयोग गरिएको इमेल र मोबाइल नम्बर सुरक्षित राख्न कम्पनीले अनुरोध गरेको छ।

तालिम सञ्चालनको विधि, सिकाइ प्लेटफर्म र कक्षामा सहभागी हुने प्रक्रियाबारे मंसिर २१ गते थप जानकारी सार्वजनिक गरिनेछ। आवश्यक विवरण दर्ता गरेका सहभागीलाई इमेलमार्फत पठाइने र कम्पनीको आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालबाट पनि जानकारी दिइनेछ।

पोखरामा २०७९ मंसिर १ गते रबिन पौडेलले स्थापना गरेको डिजिटल सोलुसनले डिजिटल सेवा, प्रविधि तथा डिजिटल साक्षरतासम्बन्धी काम गर्दै आएको छ। संस्थापक तथा एआई प्रशिक्षक पौडेलका अनुसार उनले पछिल्लो डेढ वर्षमा १० हजारभन्दा बढी व्यक्तिलाई एआईसम्बन्धी तालिम दिएका छन्। सोही अनुभवका आधारमा यसपटक ठूलो संख्यामा नेपालीलाई निःशुल्क तालिम उपलब्ध गराउने अभियान अघि सारिएको हो।

इच्छुकले डिजिटल सोलुसनको अनलाइन दर्ता पृष्ठ मा गएर मंसिर २० गतेसम्म निःशुल्क नाम दर्ता गर्न सक्नेछन्।

Nabil Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.