काठमाण्डौ । नेपाल लाइफ क्यापिटल लिमिटेडले ४ लाख ३८९ कित्ता अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले गत असार ११ गतेदेखि २५ गतेसम्म १ः०.५० अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको ४ लाख ३८९ कित्ता सेयर लिलामीमातर्फ बिक्री गर्न लागेको हो ।
कम्पनीले साउन ८ गतेदेखि उक्त सेयरहरुको बिक्री आवेदन खुलाउने भएको छ । यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ ।
लगानीकर्ताले काठमाण्डौको कमलपोखरीमा रहेको नेपाल लाइफको कार्यालय र ग्लोबल आइएमई बैंक र आईसीएफसी फाइनान्समा दरखास्त बुझाउनु पर्नेछ ।
बोलपत्र आवेदन पेश गर्ने अन्तिम मिति साउन २२ गते रहेको छ । उक्त मितिभित्र कुनै आवेदन नपरेमा सञ्चालक समितिले तोकेको शर्त र तरिकाबाट बेचबिखन,पुनःबाँडफाँड वा अन्य किसिमले बिक्री वितरण गरी बाँडफाँड गरिने कम्पनीले जनाएको छ ।