काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा उछाल आएको छ । आज नेप्से परिसूचक ४.५७ प्रतिशत अर्थात ११४.७० अंकले बढेर २ हजार ६२३.५६ विन्दुमा पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ४.३१ प्रतिशतले बढेर ४७०.८१ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०७ वटा स्क्रिप्टको १ करोड ७५ लाख ७ हजार ५५५ कित्ता सेयर ७ अर्ब ६१ करोड ६५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजारबारे नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष राजन लम्साल भन्छन्, ‘बजार उच्च विन्दुबाट धेरै तल आईसकेको थियो । त्यसैले ट्रेडर हाबी भएको हाम्रो बजारमा फेरि ट्रेडरहरु बजार प्रवेश गर्दा बजारले हिजोआज गति लिएको छ । आधारभूत रुपमा पनि असोज मसान्तको दबाब पनि घट्दै गएको छ । बेसदर घट्दै गर्दा ब्याजदर पनि थप घट्ने क्रममा रहेको छ ।’
यसका साथै पूँजी बजारप्रति सरकार निकै सकारात्मक भएकाले पनि बजारले विस्तारै नयाँ रेकर्ड बनाउँदै जाने लम्सालले बताए ।
अर्का बजार जानकार दामोदर गजुरेलले पनि असोज र दशैंको दबाब सकिएका कारण बजारमा वृद्धि देखिएको बताए । ‘बजारले २४४० लाई टेस्ट गरेर पुनः फर्किएको छ । यद्यपी बजारले बोलिङ्गरको मध्यब्याण्डमा प्रतिरोधको सामना गर्न सक्छ । त्यपछि भने बजारले नयाँ उचाई लिने देखिन्छ, ’उनले भने ।
उनले बजारले मंसिर–पुस महिनासम्ममा अल टाइम हाईको उचाई छुने पनि दाबी गरे ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा हरियाली छायो । आज फाइनान्स समूहमा सर्वाधिक उछाल आयो । यो समूह आज ९.७४ प्रतिशतले बढ्यो ।
यस्तै बैंकिङ समूह आज ३.८२ प्रतिशत, विकास बैंक ५.४८,होटल ५.९७,हाईड्रो ५.९८,लगानी ६.१०,जीवन बीमा ४.१२,उत्पादन तथा प्रशोधन २.१९,लघुवित्त ३.९८,म्युचुअल फण्ड १.६६,निर्जीवन बीमा ३.०९,अन्य ४.६७ र व्यापार समूह ३.९९ प्रतिशतले बढ्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन एनएलजी इन्स्योरेन्स कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज २८ करोड ८२ लाख बढीको सेयर कारोबार भयो । यस्तै हिमालयन रि इन्स्योरेन्सको २३ करोड ५१ लाख,नेपाल फाइनान्सको २० करोड ७२ लाख,सिईडिबि हाईड्रोको १९ करोड ७२ लाख र अपि पावर कम्पनीको १८ करोड १० लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएका ३० वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज बुटवल पावर कम्पनी,गोर्खाज फाइनान्स,गुडविल फाइनान्स,श्री इन्भेष्टमेन्ट फाइनान्स,सेन्ट्रल फाइनान्स,जानकी फाइनान्स,समृद्धि फाइनान्स,गुहेश्वरी मर्चेन्ट,आईसीएफसी फाइनान्स,प्रोग्रेसिभ फाइनान्स,मल्टीपपर्सस फाइनान्स,रिलायन्स फाइनान्स,अरुण काबेली पावर,दोर्दी खोला जलविद्युत,इष्टर्न हाईड्रो,सिटी होटल,थ्रिस्टार हाईड्रो,नेपाल वेयरहाउजिङ,हिमाल दोलखा हाईड्रो,मन्जुश्री फाइनान्स,नेपाल फाइनान्स,वेष्ट फाइनान्स,एक्सेल डेभलपमेन्ट बैंक,सिद्धार्थ इक्वीटी फण्ड,युनियन हाईड्रोपावर,मिड सोलु हाईड्रो,पोखरा फाइनान्स,ग्रिन डेभलपमेन्ट बैंक,न्यादी हाईड्रोपावर र घलेम्दी हाईड्रोको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।
आज एनएमबी५० का इकाईधनीहरुले सर्वाधिक अर्थात ३.८६ प्रतिशतले गुमाए ।