काठमाण्डौ । आज अधिकांश एशियाली सेयर बजारले गिरावटका साथ कारोबारको थालनी गरेका छन् । आज जापान,दक्षिण कोरिया र हङकङ जस्ता प्रमुख एशियाली बजारमा गिरावट देखिएको छ ।
जापानको निक्की२२५ इन्डेक्स आज ०.४२ प्रतिशत अर्थात १५९ अंकले घटेर ३८ हजार १८९ विन्दुमा खुम्चिएको छ । जापानको राजधानी टोकियोमा बढेको महङ्गीको प्रभाव स्वरुप त्यहाँको सेयर बजार प्रभावित बनेको जनाइएको छ ।
नोभेम्बर महिनामा टोकियोको मुद्रास्फितीदर २.६ प्रतिशत पुगेको छ । गत अक्टोबर महिनामा यो दर १.८ प्रतिशत कायम थियो । खाद्यान्नतर्फको मुद्रास्फिती २.२ प्रतिशत पुगेको छ । टोकियोको मुद्रास्फितीदरले समग्र जापानको अवस्थालाई उजागर गरेको रिपोर्टमा जनाइएको छ ।
यस्तै आज दक्षिण कोरियाको कोस्पी पनि १.७१ प्रतिशतले घटेर २ हजार ४६१ विन्दुमा झरेको छ । दक्षिण कोरियाको वार्षिक औद्योगिक उत्पादन २.३ प्रतिशतले वृद्धि भएतापनि सेयर बजारमा भने गिरावट देखिएको छ ।
यस्तै साना पूँजी भएका कम्पनीहरुको कारोबार हुने दक्षिण कोरियाको कोस्डाक पनि १.७५ प्रतिशतले घटेको छ ।
आज अष्ट्रेलियाको एसएण्डपी÷एएसएक्स२०० पनि ०.३५ प्रतिशतले ओरालो लागेको छ । हङकङको हाङसेङ इन्डेक्स पनि ०.०१४ प्रतिशत र चीनको सीएसआई३०० पनि झिनो अंकले घटेको छ ।