काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुई कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा ङादी ग्रुप पावर कम्पनी र नेशनल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य समायोजन भएको हो ।
ङादी ग्रुप पावरले जारी गर्न लागेको शतप्रतिशत हकप्रद सेयरका लागि भएको समायोजन पश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता २८९ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४७८ रुपैयाँ थियो । कम्पनीले शतप्रतिशत हकप्रद सेयरका लागि मंसिर १८(आज) गते बुक क्लोज गर्दैछ । यसर्थ, मंसिर १७ गतेससम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै यो हकप्रद खरिदका लागि योग्य हुनेछन् ।
कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२ को १ः१ अनुपातमा प्रति कित्ता १०० रुपैयाँ अंकित दरका १ करोड ८५ लाख १२ हजार ७९२ कित्ता हकप्रद साधारण सेयर निष्काशन गर्दैछ ।
यस्तै नेशनल लघुवित्तले गत आवका लागि घोषणा गरेको १४.२५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको छ । समायोजनपश्चात संस्थाको सेयरमूल्य प्रतिकित्ता १ हजार ३५५.८० रुपैयाँ कायम भएको छ । संस्थाको अन्तिम कारोबार मूल्य भने प्रतिकित्ता १ हजार ५४९ रुपैयाँ कायम थियो ।
आज नयाँ समायोजित मूल्यअनुसार दुवै कम्पनीको सेयर कारोबारमा आउनेछन् ।