काठमाण्डो । आज नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ३ वटा कम्पनीको लाभांश सुरक्षित गर्न अन्तिम दिन रहेको छ । यी कम्पनीहरुमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, सूर्यज्योति लाइफ इन्स्योरेन्स,र फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था रहेका छन् ।
एनआरएन इन्फ्रास्ट्रक्चर र सूर्यज्योति लाइफले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर २१ गते र फर्स्ट माइक्रोफाइनान्सले मंसिर २३ गते बुकक्लोज गर्दैछन्। यसर्थ आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरु यी कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।
एनआरएन इन्फ्रास्ट्रक्चले गत आवसम्मको सञ्चित मुनाफाबाट चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र सो मा लाग्ने कर प्रयोजनका लागि ०.२३६२ प्रतिशत नगद लाभांश गरी कुल ५.२३६२ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले लाभांश पारित गर्न आगामी पुस १२ गते काठमाण्डौमा रहेको आम्रपाली ब्याङक्वेटमा बिहान ९ बजेदेखि साधारण सभा डाकेको छ ।
यस्तै सूर्यज्योति लाइफले गत आवका लागि हाल कायम चुक्तापूँजी ५ अर्ब १ करोड १९ लाख ४७ हजार ७९७ रुपैयाँको २० प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत) प्रस्ताव गरेको छ । यो लाभांश कम्पनीको आगामी पुस ६ गते आयोजना हुने साधारण सभाबाट अनुमोदन गरी वितरण गरिनेछ ।
फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको १५ औं साधारण सभा पनि पुस ११ गते काठमाण्डौको भाटभटेनीमा रहेको आम्रपाली व्याङ्केटमा बिहान १० बजेदेखि सुरु हुनेछ । उक्त सभाले संस्थाको सञ्चालक समितिले प्रस्ताव गरेको ९ प्रतिशत बोनस सेयर र ०.४७ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।