काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर संरचना परिवर्तन हुने भएको छ । सेयर संरचना परिवर्तपश्चात अब संस्थामा संस्थापक समूहको सेयर स्वामित्व ६३.८७ प्रतिशत र सर्वसाधारण समूहको ३६.१३ प्रतिशत कायम हुनेछ ।
यसअघि संस्थामा संस्थापक समूहको सेयर स्वामित्व ६९.४८ प्रतिशत र सर्वसाधारण समूहको ३०.५२ प्रतिशत कायम थियो । यो संस्था साविकको समता लघुवित्त,घरेलु लघुवित्त ,मनकामना रस्मार्ट लघुवित्त एक आपसमा गाभिएर बनेको हो ।
मर्जरपश्चात कायम भएको संस्थाको गत साउन २३ गते बसेको सञ्चालक समितिको बैठकले साविक समता लघुवित्तका संस्थापक सेयरधनीहरुको नाममा रहेको संस्थापक सेयर चुक्तापूँजीको ५.६१ प्रतिशत विन्दुले हुने संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन गर्ने निर्णय गरेको थियो । र्संस्थाको उक्त निर्णय नेपाल राष्ट्र बैंकबाट समेत स्वीकृत भईसकेको छ ।
साथै संस्थापक सेयर सर्वसाधारण समुहमा परिवर्तन गर्न नचाहने साविक समता लघुवित्तका संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बनेपामा रहेको समता घरेलु लघुवित्तको केन्द्रीय कार्यालयमा लिखित रुपमा निवेदन दिन वा वित्तीय संस्थाको ईमेलमा निवेदन पठाउन आग्रह गरिएको छ । सूचनाको म्यादभित्र सर्वसाधारण समूहको सेयरमा परिवर्तन नगर्ने भनी निवेदन नदिने संस्थापक सेयरधनीहरूको हकमा संस्थापक सेयर अनुपात सर्वसाधारण समुहमा परिवर्तन गर्न मञ्जुर रहेको ठानी सोही बमोजिम सर्वसाधारण समुहमा परिवर्तन गर्नेतर्फ प्रक्रिया अगाडी बढाइने संस्थाले जनाएको छ ।